काठमाडौंमा हुने अहिंसा महोत्सवको तयारी पूरा

नेपालखोज २०८२ भदौ ११ गते ११:३७

काठमाडौं । नेपाल शाकाहारी संघले आयोजना गर्ने ‘अहिंसा महोत्सव नेपाल’ (अहिंसा फेस्टिभल नेपाल) को तयारी पूरा भएको छ । महोत्सव नेपाल प्रहरी क्लब प्रदर्शनी मार्ग, भृकुटीमण्डप काठमाडौंमा भदौ १२ गते बिहीबारदेखि भदौ १४ गते शनिबारसम्म (३ दिने) आयोजना हुनेछ ।

’करुणाले जोड्छ’ भन्ने मूल नारासहित सम्पन्न हुन लागेको महोत्सवमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पशुपक्षी प्रेम, मानव स्वास्थ्यको ख्याल गर्ने र पृथ्वी/वातावरणको हितका लागि ‘पूर्ण शाकाहारी’ जीवनशैली प्रवर्द्धन यो कार्यक्रमको मुख्य उद्देश्य बताइएको छ ।

महोत्सवले अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने पशुमुक्ति अभियन्ता, विभिन्न संघसंस्था र समुदायलाई जोड्ने अपेक्षा राखेको छ । कार्यक्रमका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकाहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया रहने नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा भरतनाट्यम नृत्यलगायत साङ्गीतिक प्रस्तुति, योग सत्र, देश विदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान, शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रि भोज रहनेछन् । महोत्सवमा पूर्ण शाकाहारी (भिगन) खानाहरूको समेत स्टल रहनेछन् । केही स्टलमा निःशुल्क रूपमा भिगन खाना चाख्ने स्किमको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ । त्यस्तै, महोत्सवमा खाना लगायत शाकाहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन् । जसमा अन्तर्राष्ट्रिय वक्ताहरूसमेत रहनेछन् । संघले २०७४ सालमा पनि काठमाडौंमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आठौँ एसिया–प्यासिफिक भेजिटेरियन कांग्रेस (एपिभिसी) सफलतापूर्वक आयोजना गरेको थियो ।

शाकाहार र अहिंसा प्रवर्द्धनको क्षेत्रमा शाकाहारी संघ झन्डै दुई दशकयता नेपालभित्र अनेकन् गतिविधिमा क्रियाशील रहेको छ । कार्यक्रमको सह–आयोजकमा काठमाडौं एनिमल सेभ मुभमेन्ट, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज र वल्र्ड भिजन अर्गनाइजेसन रहेका छन् । कार्यक्रम प्रायोजकमा वल्र्ड भिगन भिजन र म्याजिक मार्बल फाउन्डेसन रहेका छन् ।

प्रतिक्रिया