अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

नेपालखोज २०८२ भदौ ११ गते २०:५६

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई ‘डिएनए’ बाट गरिने परीक्षण र ड्रक परीक्षणका लागि प्रयोग हुने आधुनिक उपकरण र ‘डिएनए’ परीक्षणमा प्रयोग हुने सफ्टवेयर सहयोग गरेको छ ।

प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट प्राप्त कम्बाइन्ड डिएनए इन्डेक्स सिष्टम (डिएनए सफ्टवेयर) र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्राप्त भएको हो । नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा आज एक समारोहबीच अमेरिकी दूतावासले उक्त प्रविधि हस्तान्तरण गरेको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले आज हस्तान्तरण भएका आधुनिक उपकरणहरू र प्रविधिहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटो्छरितो बनाउनुका साथै वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणसमेत प्राप्त हुने विश्वास व्यक्त गरे ।

उक्त प्रणालीको सुविधाले फोरेन्सिक डिएनए विश्लेषण क्षमतालाई अन्तरराष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै यस उपकरणले लागुऔषधको स्क्रिनिङमा क्षमता अभिवृद्धि हुने उनले बताए ।

प्रहरी महानिरीक्षक थापाले अमेरिकी दूतावासले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवं विकासका लागि विगतका वर्षमा विभिन्न परामर्श, तालिम र उपकरणसमेत प्रदान गर्दै आइरहेको र यसले गर्दा अन्तरराष्ट्रिय मापदण्डअनुरूप क्षमतावान् एवं दक्ष फोरेन्सिक विज्ञहरू उत्पादन गर्न मद्दत पुगेको बताए ।

आधुनिक प्रविधिको एकीकरणले नेपाल प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया