बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपालखोज २०८२ भदौ ११ गते २१:२८

बारा । बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका-२२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

आज बिहान करिब ७:३० बजेतिर स्कुटर लिएर आधाभार जङ्गलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । खोजतलासका क्रममा जङ्गलभित्र स्कुटी र घाँस भेटिए पनि उनी फेला परेनन् । त्यसपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले खोजतलास गर्नेक्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो । आज दिउँसो प्रहरी टोली र आधाभार ब्यारेकबाट खटिएको नेपालीसेनाको संयुक्त टोलीले जङ्गलभित्र शव फेला पारेको बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रवक्ता पण्डितले भने । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया