सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।
पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने यसका जानकार खगेश्वरी साउदले बताए । यो पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लगाउँछन् ।
आजैदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ ।

प्रतिक्रिया