सुदूरपश्चिमको विकासमा लगानी गर्न आह्वान

काठमाडौं । पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ का रूपमा रहेको सुदूरपश्चिममा लगानीका लागि सरोकार भएकाहरूले आह्वान गरेका छन् ।
सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा आज यहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा वक्ताहरूले सुदूरपश्चिममा लगानीकमा लागि आग्रह गरेका हुन् ।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरे । उनले त्यहाँ लगानीको वातावरण बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नीति निर्माण र योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने खाँचो औँल्याए ।
उनले लगानी सम्मेलनका लागि निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सुदूरपश्चिको पर्यटन विकासका लागि सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गरे । मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरे । सुदूरपश्चिममा आगामी मङ्सिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि प्रदेश सरकारले विभिन्न निकायसँग छलफल गरिरहेको उनले बताए ।
कार्यक्रममा सुदूरपश्चिम सरकारका तर्फबाट सुदूरपश्चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनार र लगानी तथा विकास सम्मेलन परियोजना विज्ञ दिलिप भट्टले प्रस्तुतीकरण गरिएको थियो । अन्तरक्रियामा होटल सङ्घका अध्यक्ष विनायक शाहले सुदूरपश्चिममा लगानीको प्रचुर सम्भावना रहेको भन्दै लगानीको वातावरण बनाइनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सुदूरपश्चिममा पर्यटन विकासका लागि एकीकृत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया