प्रधानमन्त्री ओलीद्वारा आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको तियान्जिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको आफ्नो आसन्न भ्रमणबारे आज प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका छन् ।
उनले यस भ्रमणबाट नेपाल र जनवादी गणतन्त्र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताए । प्रधानमन्त्री ओलीले ‘एससिओ’ शिखर सम्मेलनमा आफ्नो सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ (तदनुसार अगष्ट ३० देखि सेप्टेम्बर ३० सम्म चीनको पाँचदिने भ्रमणमा जाँदै छन् ।
नेपालले सो सङ्गठनमा देशको सहभागिताको स्तर अभिवृद्धि गर्दै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय मामिलामा आफ्नो दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गरी अत्यधिक लाभ हासिल गर्न भ्रमण केन्द्रित हुने प्रधानमन्त्री ओलीले स्पष्ट गरे । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको दुईपक्षीय भेट हुने कार्यक्रम छ । यसैगरी, चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि उनको भेट हुनेछ । चीनका राष्ट्रपति र उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा समेत नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।

प्रतिक्रिया