सोमबार, मंसिर २२, २०८२

मधेस प्रदेशसभाको बैठक आज दोस्रो दिन पनि स्थगित

नेपालखोज २०८२ भदौ १३ गते १६:४६

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेस प्रदेशसभाको आज दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित गरिएको छ ।

आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यहरूले विरोध जनाएका थिए । त्यसपछि सभामुख रामचन्द्र मण्डलले नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहालाई बोल्ने समय दिए । कुशवाहाले अर्थमन्त्रीले त्रुटिपूर्ण बजेट ल्याएको र बहुमतले पास गरिएको भन्दै अर्थमन्त्री सुनीलप्रसाद साहको राजीनामा माग गरे ।

उनले अर्थमन्त्रीको राजीनामा नआएसम्म सदनमा अवरोध जारी रहने बताए । लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीको भनाइको प्रतिवाद गरे । सर्वदलीय बैठकमा नआउने र सदनमा अवरुद्ध जारी राख्ने कार्य गलत भएको उनको भनाइ थियो । त्यसपछि सभामुख मण्डलले प्रदेशसभा बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको घोषणा गरे ।

प्रतिपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरूले बैठक अवरुद्ध गर्दै आएका हुन् ।

प्रतिक्रिया