‘राष्ट्रिय एकताका लागि दलहरूबीच सहकार्य आवश्यक छ’

नेपालखोज २०८२ भदौ १३ गते २१:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अस्थिरता र अराजकता सृजना गर्ने प्रयासका विरुद्ध दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिका-१७ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विभिन्न शक्तिहरूले देशमा द्वन्द्व सृजना गरेर सङ्कट निम्त्याउने प्रयास गरेकाले राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए ।

‘अहिलेको व्यवस्थालाई कमजोर बनाउने प्रयास भएको छ । दलहरूबीचको मजबुत एकताबाट मात्र राष्ट्रिय स्वाधिनता र एकताका लागि बल पुग्दछ । वर्तमान व्यवस्थाको विकल्प छैन’, महासचिव गुरुङले भने ।

नेता गुरुङले देश स्वाधिन बन्नका लागि भ्रष्टाचारको अन्त्य हुनैपर्नेमा जोड दिए । माओवादीको नेतृत्वमा बनेको अघिल्लो सरकारले सुशासनका लागि काम गरेकाले जनतामा समेत उत्साह छाएको उनको भनाइ थियो ।

महासचिव गुरुङले देश विकासमा माओवादी केन्द्रको विकल्प नभएको बताए ।

प्रतिक्रिया