गौरापर्व सामाजिक पुनर्मिलनको अवसर हो : उपराष्ट्रपति यादव

नेपालखोज २०८२ भदौ १५ गते ७:००

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरापर्व सामाजिक पुनर्मिलनको अवसर भएको बताउनुभएको छ । गौरापर्व २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले गौरापर्वले परिवार, आफन्तजन र समुदायबीचको सम्बन्ध पुनः सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

गौरी–महेश्वरको आराधना गरिने गौरापर्व धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सामाजिक एकताको अनुपम प्रतीक हो । यस पर्वमा पाँच प्रकारका अन्नको मिश्रण ‘बिरुडा’ प्रसादस्वरुप ग्रहण गर्ने परम्परा रहिआएको छ । यस अवसरमा देउडा, धमारीजस्ता लोकनृत्य तथा गीतमार्फत महिला–पुरुष छुट्टाछुट्टै गोलबद्ध भई सामूहिक उत्सवका रूपमा मनाउने चलनले गौरापर्वलाई थप जीवन्त बनाएको छ ।

गौरापर्वले जात, वर्ग, लिङ्ग वा हैसियतको भेदभावबिना सबैले एउटै वृत्तमा हातेमालो गर्दै पर्वको उल्लासमा सहभागी हुने परम्पराले सामाजिक समता, सहिष्णुता र सहअस्तित्वको सन्देश फैलाउने उनको भनाइ छ । उपराष्ट्रपति यादवले चाडपर्वलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी, लोककल्याण र सामाजिक समृद्धिको माध्यमका रूपमा प्रयोग गर्न सकियो भने पर्वहरू राष्ट्र निर्माणका आधार बन्न सक्ने विश्वास व्यक्त गरेका छन् । -रासस

प्रतिक्रिया