बुधबार, मंसिर २४, २०८२

‘इम्बोस्ड नम्बर प्लेट विवाद : भाषिक राष्ट्रवाद र व्यवहारिकताको दोधारमा नेपाल’

जय प्रकाश आनन्द २०८२ भदौ १५ गते ११:४२

अहिले सवारी साधनहरूमा इम्बोस्ट नम्बर प्लेटको बडो ठुलो चर्चा छ । कयौं महिना अघि सरकारले इम्बोस्ट नम्बर प्लेट व्यवहारमा ल्याउने निर्णय गरेको हो, तैपनि खासै चर्चा थिएन । नागरिक समाजमा तथा सञ्चार क्षेत्रमा दरो पकड भएका कनकमणि दीक्षितले सरकारले लागु गर्न लागेको यो इम्बोस्ड नम्बर प्लेट कुनै पनि हालतमा देवनारी लिपीमा नै हुनु पर्छ, किमार्थ पनि अङ्ग्रेजी भनौँ वा रोमन लिपीमा हुनु हुँदैन भनी अभियान चलाएपछि अब यो केपी शर्मा ओलीको चुच्चे नक्सा भित्र लुकेको राष्ट्रवाद भन्दा पनि भाषिक राष्ट्रवादको जोसिलो सवाल बन्न गएको छ । मेरा इलामे मित्र धर्म गौतमले त एक लेखमा इम्बोस्ड शब्दलाई नै ‘भुक्के संकेतांक’ भनेर लोकार्पण गरिदिएका छन् ।

धेरै पहिला, शायद १२-१५ वर्ष अघि थुनामा हुँदाका बखत टर्कीका राष्ट्रपिता कमाल अतातुर्कको जीवनी, ‘ATATURK: The Rebirth of a Nation’ पढेको थिए, आज केही प्रसङ्गको याद आएको छ, असाधारण पुस्तक थियो त्यो। अटो मन साम्राज्यबाट टर्की मुक्ति भएपछि आउने शताब्दियौंमा आफ्ना नागरिकहरूले बेहोर्ने चुनौतीहरूको आंकलनगरी त्यसको मुकाबिला गर्न सक्ने राष्ट्र बनाउने स्वप्न जीवी राजनेताको प्रेरणादायी वृत्तान्त थियो।

आजको टर्की सिपाही राजनेता कमाल मुस्तफाको सिर्जना हो, जसले भूमध्य सागर र काला सागरको साँधमा रहेको पूर्वी र पश्चिमी सभ्यताको मिलन विन्दुमा अवस्थित मध्ययुगीन अरबहरूको इस्लामी प्रभावमा जकडिएको राष्ट्रलाई समुन्नत बिसौँ शताब्दीमा प्रवेश गराए। भनिन्छ, मुलुकहरू भित्रको जनसङ्ख्याको स्वरूपले शासनका प्राथमिकता तथा सोचहरूको निर्माण गर्दछ ।

कट्टर इस्लामी र अनुदार क्रिश्चियन प्रभावका राष्ट्रहरूको के कुरा, ऐतिहासिक कालदेखि बहुसाँस्कृतिक परिवेशमा रहेका भारत, पाकिस्तान, बङ्गलादेश, इन्डोनेसिया, मलेसिया जस्ता मुलुकहरू आज धार्मिक, सांस्कृतिक रूपमा प्रतिगमनका बाटोमा छन्। नेपाल कै कुरा गरूँ, गणतन्त्रको स्थापना पछि यो मुलुक समावेशिता, भाषिक स्वतन्त्रता, धार्मिक सहिष्णुता जस्ता मापकहरूका आधारमा प्रतिगमन कै बाटोमा त छन्। अनि कल्पना गरौँ, अटो मन साम्राज्य विस्थापित भैसकेको त्यस बखतको टर्कीमा ग्रिससँगको जनसङ्ख्या साटासाट (सन् १९२३) पछि ठुलो सङ्ख्यामा इसाई ग्रीक र अर्मेनियनहरू टर्कीबाट बाहिरिए।

त्यो समय थियो, जब टर्कीमा कूल जनसङ्ख्याको ९८% भन्दा बढी जनसङ्ख्या मुसलमानहरू हुन गए, मुख्यतः सुन्नीहरू। स्वयं अतातुर्क जन्मजात मुसलमान थिए । जबकि संसार नै बदलिने त्यस दौरमा टर्कीले कमाल मुस्तफाको नाममा यौटा यस्तो नेता पायो, जसले आउने दशकौँपछि एक समय जडवादी अरब समाजको अनिवार्य क्षय हुनेछ। त्यस बखतको संसारमा सान्दर्भिक भई समुन्नत हुनका लागि अरब संसार पश्चिमाहरूको सङ्गतमा अरबी तथा फारसीबाट अङ्ग्रेजीमा अनुवाद गरी संसार बुझ्नु पर्ने हुन्छ। त्यस समयमा भूगोलको फाइदा उठाएर टर्कीले युरोपसँग सहकार्यको इतिहास बोकेर स्वयं युरोपलाई नै टक्कर दिई रहेको हुन्छ-चिन्तन र भविष्य उन्मुख सोचको यो प्रक्षेपण गरेका थिए, अतातुर्कले।

त्यस बेला कति कति कठिन भयो होला उनलाई, परम्परागत अरबी लिपि भविष्यमा उपयोगी नहुन सक्दछ भन्ने ठोस आङ्कलनका साथ आफ्नो मुलुकमा शताब्दियौंदेखि प्रयोगमा रहेको अरबी लिपि नै परिवर्तन गरेर ल्याटिन लिपीलाई टर्की भाषामा लागु गरे। यस ऐतिहासिक तथा साहसिक निर्णय पछि टर्की जहाँको साक्षरता दर १० प्रतिशत भन्दा कम थियो, केही दशक मै ३० प्रतिशत पुग्यो। अरब जगतले टर्कीको यस निर्णयलाई इस्लाम विरोधी भनी कडा आलोचना गर्‍यो, तर यो एक निर्णय नै युगान्तकारी भयो। कमाल अतातुर्क यति मै सीमित रहेनन्। उनले यसै क्रममा परम्परागत इस्लामी क्यालेन्डरलाई समेत परिवर्तन गरेर आधुनिक पश्चिमी क्यालेन्डर प्रयोगमा ल्याए।

अरब नागरिकहरू र अन्य इस्लामहरू झैँ टर्किसहरूले पनि आफ्नो नाममा पारिवारिक थर प्रयोग गर्दैनथे। तर, कमाल मुस्तफाले समाज रूपान्तरणको नयाँ अभियानको नेतृत्व गर्दै नामको अगाडि पारिवारिक थर राख्ने चलन बसाए । परिणामतः राष्ट्रपति कमाल मुस्तफा जो परम्परागत नाममा अझ कमाल पासा थिए, कमाल अतातुर्क भए । धर्मलाई राज्यबाट अलग्ग पारियो, टर्कीलाई धर्म निरपेक्ष राष्ट्र बनाइयो । यस अधि खिलाफातको समाप्ति, शरीयत अदालतको खारेजीको घोषणा गरियो। खिलाफात त्यस बखतको सर्वमान्य इस्लामिक धार्मिक-राजनीतिक संस्था थियो जसलाई पैगम्बर मोहम्मदको उत्तराधिकारी मानिन्थ्यो, यसको निलम्बन कम ठुलो साहसको कुरो थिएन। यस सानो आलेखमा म टर्कीका ती निर्णयहरूको फेहरिस्तमा जान चाहन्न।

म आज सोचमा निमग्न भएको छु कि नेपालमा आज हामी कहाँ फस्दै गइरहेका छौँ? अत्यन्त राम्रा, अनुभवी मानिसहरू समेत भावना बहकाएर समाजमा आफ्ना विशिष्ट खाले उपस्थिति जनाउने कार्यमा लागेका छन्। मानौँ, रोमन लिपीमा यदि इम्बोस्ड प्लेट जारी भएमा कुनै ठुलै विपद् मुलुकले बेहोर्नु पर्नेछ। सरकार सुरु मै चुकेको छ। यो निर्णय लिनु पहिल्यै गम्भीर विमर्श हुनुपर्थ्यो। रोमन लिपीमा वा अङ्ग्रेजीमा यसरी हठात् मेटर गाडीहरूको नम्बर प्लेट लागु गराई छोड्नुको पछाडि यदि कुनै आर्थिक चलखेल छ भने त्यसलाई उजागर गरेर कानुनको सम्मुख उभ्याउनु उचित हो। अन्यथा, हरेक सवाल र निहुँमा सर्व साधारणको संवेदनशीलतालाई ध्रुवीकरण गर्दै लानु कसरी व्यवहारिक हुन्छ र? भाषाको संवर्द्धन तथा विकासका लागि आफ्नै बाटाहरू त छन् नि!

प्रतिक्रिया