बुधबार, वैशाख १२, २०८१

नेतागण विश्राम लेऊ !

अहिलेका शीर्ष नेताहरू जोगी हुन राजनीति गरेको होइन भन्छन्, सबैका नाममा काण्ड र भ्रष्टाचाका कथा जोडिएका देखिन्छन् ।

केशव गौतम २०७८ असोज ११ गते ११:०६

अहिले नेतृत्व तहमा रहेका नेपालका राजनीतिक दलका शीर्ष नेताहरूले देश विकास गर्नका लागि स्वेच्छाले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था उत्पन्न भएको छ । यस विषयमा कुरा गर्दा हामीले भियतनामको इतिहासको अध्ययन गर्नु उपयुक्त हुनेछ । ‘द सोसलिस्ट रिपब्लिक अफ भियतनामका’ नेता हो चि मिन्हपछिका तात्कालीन नेता एवं प्रधानमन्त्री फान भान डोङले (पुरानो पुस्ताले) आफ्नो नीति र नेतृत्व क्षमताबाट देशको विकास नहुने देखेपछि इमानदारीसाथ दोस्रो पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गरेर देश बनाउने जिम्मा दिएका थिए । यसरी दोस्रो पुस्ताका नेता गुयेन भान लिन्ह भियतनाम कम्युनिस्ट पार्टीको महासचिव बनेपछि उनको नेतृत्वमा भियतनामले द्रुतगतिमा विकास गरेको इतिहास साक्षी छ ।

हाम्रा देशका वर्तमान शीर्ष नेताहरूबाट पनि यो देशको विकास हुन सकेन । संविधानको भावनाअनुसार समाजवादको प्राप्तितर्फ नेताहरूले न त देश अगाडि बढाएका छन् । न जनताले संविधानले दिएका अधिकारहरू नै उपभोग गर्न पाएका छन् । प्रजातन्त्र प्राप्ति भएको ३२ वर्ष र गणतन्न्र प्राप्त भएको १३ वर्ष बितिसक्दा पनि जनताले आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य र रोजगारी पाउन सकेका छैनन् । हाम्रो देशमा विदेशी राष्ट्रहरूको ‘चलखेल’ बढ्दै गएको छ । पटक-पटक प्रधानमन्त्री हुँदा पनि देशको विकास गर्न नसकेका नेताहरूबाट यो देशको विकास हुन सक्दैन भन्ने कुरा अब स्पष्ट भइसकेको छ । यो कुरा अब सबै नेपाली जनताले पनि बुझिसकेका छन् ।

२१औं शताब्दीको विकासित प्रविधिको प्रयोग गर्ने कुरा, विषयगत विज्ञताका कुरा, बदलिँदो जीवनको गति र वर्तमान समयका चुनौतीहरूलाई सम्बोधन गर्ने कुरामा पनि पुरानो पुस्ताले नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था देखिँदैन । त्यसकारण पनि देश विकासका लागि नयाँ पुस्ता आवश्यक देखिन्छ ।

त्यति मात्र होइन श्रद्धेय बीपी, पुष्पलाल, मनमोहन, किसुनजीको नाम अहिले पनि आदर र श्रद्धाका साथ लिइन्छ किनभने उनीहरु पद, प्रतिष्ठा र व्यक्तिगत लाभमा आशक्त भएनन् । बाँचुन्जेल राजनीतिलाई देश र जनताको सेवाको माध्यमका रूपमा लिए । तर अहिलेका शीर्ष नेताहरू जोगी हुन राजनीति गरेको होइन भन्छन् । सबैको नाममा काण्ड र भ्रष्टाचाका कथा जोडिएका देखिन्छन् । त्यसकारण पनि नेताजीहरूले विश्राम लिनु उचित देखिन्छ ।

प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि नेताहरूले गरेको संघर्ष र योगदान महत्त्वपूर्ण छ। उनीहरुको योगदानको उच्च मूल्यंकन गरेरै जनताले उनीहरूलाई सर्वोच्च स्थानमा पुर्‍याएका थिए । तर उनीहरु आफैंले एक-अर्काको पोल खोलाखोल गरेर, एक-अर्काप्रति तल्लास्तका आरोप-प्रत्यारोप र गाली-गलौज गरेर आफ्नो छवि समाप्त पारेका छन् । जनतामा नेताहरूप्रति निराशा र वितृष्णा उत्पन्न भएको देखिन्छ । त्यसैले पनि अब नेपालका राजनीतिक दलका शीर्ष नेताहरूले नेतृत्व हस्तान्तरण गर्ने समय आइसकेको छ ।

प्रतिक्रिया