‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ वक्तृत्वकला प्रतियोगिताको घोषणा

नेपालखोज २०८२ भदौ १५ गते १८:२३

काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयमा खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिताको घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी देश तथा विदेशमा रहेका इच्छुक नागरिक प्रतियोगितामा भाग लिनसक्ने जनाएको छ ।

पार्टीका युवा नेता तथा संगठनका फ्याक्सन इन्चार्ज हिमाल शर्माले पुस्तकालय विभागले गर्न लागेको कार्यक्रम निकै नै महत्वपूर्ण रहेको बताए । शर्माले सो प्रतियोगिता इतिहासको दस्तावेजीकरणको लागि कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

संगठनका अध्यक्ष विजय प्रकाश सापकोटाले विभागको रचनात्मक कार्यक्रमको प्रशंसा गर्दै, आजको युगमा पनि पुस्तकालयको महत्व झन बढ्दै गएको दाबी गरे । महासचिव रोशन थापामगरले आफ्नो संगठनले विगतमा पनि यस्ता प्रकृतिका कार्यक्रमहरु गर्दै आएको जनाउँदै अबका कार्यक्रमहरु प्रविधिमैत्री र युग सापेक्षीक हुनुपर्नेमा जोड दिए ।

सो संगठनको पुस्तकालय तथा अभिलेख विभागको आयोजनामा सो प्रतियोगिता हुने विभागीय प्रमुख समकृति पुनले बताईन् । पुनले प्रतियोगिताको रुपरेखा तथा मूल्याङकनका आधार बारे जानकारी दिदै भनिन् देश, विदेशमा रहने जोसुकै नेपाली नागरिकले नेपाली भाषामा तयार गरेर भिडियो १५ दिनभित्र पठाउन सक्ने छन् ।

पुनले संगठनको विभागको इमेलमा पठाएको भिडियोलाई संगठन पेजमा प्रशारण गर्ने जनाइन् । सो भिडियो अधिकतम ५ मिनेटको हुनुपर्ने बताइन् । पुनले मूल्याङ्कन क्षेत्र–विषयगत मूल्याङ्कन (६० अंक) र सामाजिक सञ्जाल मूल्याङ्कन ४० अंक भार रहने र प्रतियोगीले २०८२ भदौ १५ गते साँझदेखि भदौ ३१ गते राती १२ बजेसम्म भिडियो सामाग्री पठाउने समयसीमा बारे पनि जानकारी दिइन् ।

उपाध्यक्ष उमेश कडेल, उपमहासचिवहरु जटिल कार्की र निरोज श्रेष्ठ, सचिव युन्छो हाङ मावो लिम्बु, कोषाध्यक्ष फूलमाया रानालगतायतका केन्द्रीय नेताहरुको उपस्थिति रहेको कार्यक्रमलाई केन्द्रीय सचिवालय सदस्य उद्धव रिजालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया