पार्टीप्रतिको सकारात्मक माहोललाई सङ्गठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन

नेपालखोज २०८२ भदौ १६ गते १३:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्गठन निर्माणको निम्ति आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको बैठकलाई आज भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीभित्र उठेका विभिन्न बहस, सङ्गठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखेका थिए । उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई सङ्गठनमा रूपान्तरण गर्न सके मात्रै दीर्घकालीन उपलब्धि सम्भव हुने बताए ।

अध्यक्ष दाहालले भने, ‘अब सबै नेता-कार्यकर्ताले गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ, पार्टीभित्र आत्मसमीक्षा र आलोचना-आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्छ । विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता छ ।’

पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धि, त्यसपछिको खबरदारी अभियान तथा जनसङ्गठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको अध्यक्ष दाहालले बताए ।

सङ्गठन निर्माणलाई अबको अभियानको मूलधार मानेर निर्वाचनमा जानुपर्नेमा अध्यक्ष दाहालले जोड दिए । सुदूरपश्चिम राजनीतिक र साङ्गठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश रहेको उल्लेख गर्दै उनले त्यहाँका नेता तथा कार्यकर्तालाई व्यवस्थित, योजनाबद्ध रुपमा परिचालन गर्नुपर्ने आवश्यकता भएको औँल्याए ।

प्रतिक्रिया