लहानमा आमा र छोरा मृत फेला, श्रीमान् पनि छैनन् सम्पर्कमा

नेपालखोज २०८२ भदौ १७ गते २०:२०

सिरहा । यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् ।

लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन् ।

रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा भने अचेत अवस्थामा भेटिएको र उपचारका लागि प्रादेशिक अस्पताल, लहानमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट रञ्जिताले आफ्ना दुई छोरालाई विष सेवन गराई आफूले आत्महत्या गरेको आशङ्का छ ।

स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि उक्त घरमा चहलपहल नदेखिएपछि खुला रहेको झ्यालबाट भित्र हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

मृतक रञ्जिताको श्रीमान् प्रवीण चौधरी भने पछिल्ला तीन/चार दिनदेखि डेरामा नदेखिएका स्थानीयको भनाइ छ । उनी हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

लहान–१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार प्रवीण र रञ्जिता विगत दुई वर्षदेखि लहान बजारमा डेरामा बस्दै आएका थिए । प्रवीणले दैनिक मजदुरी गर्दै आउनुभएको थियो । शवबाट दुर्गन्ध आउन थालेकाले घटना केही दिनअघि घटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । -रासस

प्रतिक्रिया