विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख
ब्लेड, स्लोभेनिया । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी ओकोंजो–इवेलाले विश्व व्यापार प्रणालीलाई अझ सबल र दीर्घकालीन स्थिरता प्रदान गर्न आवश्यक रहेको बताएका छन् । यो कुरा उनले स्लोभेनियामा आयोजित ब्लेड रणनीतिक मञ्चमा सोमबार व्यक्त गरेका हुन् ।
उनले विश्व व्यापार प्रणाली अहिले स्थिरताको अवस्थामै भए तापनि अस्थिर सन्तुलनमा रहेको उल्लेख गरे । महासचिवले युरोपेली सङ्घलाई अन्तर्राष्ट्रिय व्यापार सुधारमा अग्रणी भूमिका खेल्न आग्रह गर्दै बहुपक्षीय व्यापार प्रणालीले विश्वभरका जनताका लागि रोजगारी र समृद्धि प्रदान गरेको बताए ।
त्यसै क्रममा, युरोपेली आयोगका अन्तर्राष्ट्रिय साझेदारी आयुक्त जोजेफ सिकेलाले युरोपको तेस्रो मुलुकहरूसँगको व्यापार, उत्पादन र लगानी सम्बन्धहरू भविष्यको आर्थिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण हुने बताए ।
स्लोभेनियाको अर्थ मन्त्रालयका राज्य सचिव मातेभ्ज फ्राङेजले डब्ल्यूटीओका मूल सिद्धान्तहरूलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । साथै उनले हालै सम्पन्न युरोप र अमेरिकाबीचको व्यापार सम्झौतालाई अन्यायपूर्ण र असन्तुलित रहेको टिप्पणी गरे । रासस/सिन्ह्वा








प्रतिक्रिया