प्रचण्ड भन्छन्- समाजवादतर्फ देशलाई डोराउन एकतावद्ध हुनुपर्छ

नेपालखोज २०८२ भदौ १८ गते १८:२०

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरुद्ध प्रतिक्रियावादी शक्तिहरुबाट षड्यन्त्र भइरहेकाले एकताबद्ध हुन आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले माओवादी क्रान्तिबाट प्राप्त भएका उपलव्धीहरुमाथि विभिन्न कोणबाट प्रहार हुन थालेको भन्दै क्रान्तिको उपलव्धीको रक्षाका साथै समाजवादतर्फ देशलाई डोराउन एकतावद्ध हुनुपर्ने बताएका हुन् ।

उनले संविधान पार्टीले चाहे अनुसार निर्माण गर्न नसकिएपनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए । तर अहिले संविधान कार्यान्वयन भन्दा संविधान विरुद्ध गतिविधि भइरहेको भन्दै उनले आपत्ति जनाए ।

प्रचण्डले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको स्पष्ट पारे । त्यस्तै उनले हालको सत्ताको वास्तविक शक्ति नेताहरू नभइ, बिचौलियाहरूले नियन्त्रणमा लिएको बताए । भ्रष्टाचार र बिचौलिया संस्कृति अन्त्य गर्न सरकारमा रहँदा सुशासनको अभियान चलाइएको कारण सरकार बाट बाहिरिनुपरेकोले त्यसका विरुद्ध लड्न जनताको साथ आवश्यक भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले अबको आन्दोलन बैज्ञानिक समाजवाद स्थापनाका लागि हुने भन्दै विचार मिल्ने सबै इमान्दार शक्तिहरूलाई एकजुट हुन आह्वान गरे । विभिन्न वामपन्थी र कम्युनिस्ट घटकहरूबिच एकताका लागि छलफल भइरहेको छिटै एकताको सम्मेलन हुन सक्ने उनले बताए ।

प्रतिक्रिया