प्राधिकरणले पठायाे २६ वटा विदेशी सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्र

नेपालखोज २०८२ भदौ १९ गते १८:२७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा विदेशी सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाएको छ ।

प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णयअनुसार ती सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको अवधि भित्र सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

मन्त्री स्तरीय निर्णयसँगै मन्त्रालयले बिहीबार मध्यान्ह प्राधिकरणलाई पत्राचार गरी सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनसँगै प्राधिकरणले सबै सेवा प्रदायकलाई पत्राचार गरी सामाजिक सञ्जाल बन्द गर्न  निर्देशन दिएको हो । 

प्राधिकरणले फेसबुक, फेसबुक मेसेन्जर, युटुयुव, ह्ट्सएप, टिवीटर, लिंकदेन, स्यानपच्याट, रेडिट, डिस्कर्ड, पिन्टेस्ट, सिंगल, थे्रडस, वीच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मि वी, भिके, लाइन, इमो, जालो, सोल र हाम्रोपात्रो बन्द गर्न निर्देशन दिएको छ । 

प्रतिक्रिया