भूकम्प प्रभावित अफगानिस्तानमा रूसले मानवीय सहायता पठायो

मस्को । गत साता गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई हजार २०० जनाको मृत्यु भएपछि रुसले शुक्रबार अफगानिस्तानमा मानवीय सहायताका लागि कार्गो विमान पठाएको जनाएको छ ।
यस विपत्तिले पहिले नै गम्भीर मानवीय सङ्कटलाई गहिरो बनाएको छ । संयुक्त राज्य अमेरिकासहित केही देशहरूले तालिबानको अधीनमा रहेको देशलाई सहायता प्रदान गर्न अनिच्छुक छन् ।
सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि यस वर्षको सुरुमा मस्को तालिबान सरकारलाई आधिकारिक मान्यता दिने पहिलो देश बनेको थियो ।
रुसको आपतकालीन अवस्था मन्त्रालयले काबुलमा भूकम्प प्रभावितका लागि २० टन खाद्यान्न उपलब्ध गराएको जनाएको छ । ‘रुसी महासङ्घका राष्ट्रपतिको निर्देशनमा निकट भविष्यमा मानवीय सहायताको दोस्रो खेप पठाउने योजना छ,’ विज्ञप्तिमा भनिएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भूकम्पपछि अफगानिस्तानमा स्थानीय स्वास्थ्य सेवा ‘अत्यधिक तनावमा’ रहेको र ट्रमा सामग्री, औषधि र कर्मचारीको अभाव रहेको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका प्रमुख फिलिप्पो ग्रान्डीले भूकम्पका कारण पूर्वी अफगानिस्तानमा पाँच लाखभन्दा बढी मानिस प्रभावित भएको बताएक छन् ।
यस वर्षको जनवरीमा अफगानिस्तानलाई अमेरिकी वैदेशिक सहायता गुमाएपछि अफगानिस्तानलाई दिइँदै आएको आर्थिक सहायता घट्दै गएकोले सहायता संस्थाहरू तनावग्रस्त भएका छन् ।








प्रतिक्रिया