सङ्खुवासभामा ५५ जना क्षमताको कारागारमा १३९ कैदीबन्दी

नेपालखोज २०८२ भदौ २० गते १८:३५

सङ्खुवासभा । सङ्खुवासभामा ५५ जना क्षमता भएको जिल्ला कारागार खाँदबारीमा १३९ कैदीबन्दी राखिएको छ । जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको छ ।

यहाँ एक सय ३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका रहेका कारागारका प्रमुख जेलर राजन घिमिरेले जानकारी दिए । क्षमताभन्दा बढी सङ्ख्यामा कैदीबन्दी भएकाले खानेपानी, सरसफाइलगायत दैनिक क्रियाकलाप सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ ।

जेलर घिमिरेका अनुसार यो कारागारमा ५० पुरुष र पाँच जना महिलाको क्षमता रहेको छ । कारागार तीन दशमलव पाँच रोपनी क्षेत्रफल फैलिएको बताउँदै उनले जग्गा प्रयाप्त नहुँदा थप भवन निर्माण गर्न नसकिएको धारणा राखे ।

कैदीबन्दीहरू कारागारमा पुगेपछि मानवीय व्यवहार पाउनुपर्ने भए पनि त्यस अनुरूपको सुविधा दिन नसकिएको जेलर घिमिरेको भनाइ छ ।

कारागार जाने माथितर्फ सानो भिरालो सिडी (भर्‍याङ) ओर्लिएपछि यहाँ पुग्न सकिने घिमिरेले उल्लेख गरे । कुनै विपद् भएर कैदीबन्दीलाई तत्काल उद्धार गुर्नपरेमा एम्बुलेन्स, दमकल वा सुरक्षा निकायका गाडी पुग्नसक्ने सडक नभएको उनले बताए ।

कारागारको सुधार तथा क्षमता वृद्धि गर्नका लागि सरोकार भएका निकायलाई पटकपटक अनुरोध गरे पनि हालसम्म सुनुवाइ नभएको उनको भनाइ छ ।

प्रतिक्रिया