न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय

चेपाङ समुदायले आज न्वागी छोनाम पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वागी छोनाम पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।
न्वागी पर्व भदौ महिनाभरी नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् । यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वागी मनाउँदै छन् ।
चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वांगीलाई उत्सवका रूपमा मनाउने गरिएको छ । उक्त उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौ महिनाभरी नै न्वांगी मनाउने परम्परा रहेको छ ।
चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वांगी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिनका रुपमा पनि रहेको छ ।
न्वांगीमा चेपाङ झाँक्री पान्देले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वांगी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा चेपाङको सङ्ख्या ८४ हजार ३६४ जना छन् । चेपाङ समुदायका मानिसहरूको २६ जिल्लामा बसोबास रहेको पाइन्छ । चेपाङ जातिका ६४ वटा थर रहेका छन् । चितवनमा मात्र चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ । यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजा २६८ जना रहेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ ।
चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आएको छ । साथै गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ ।
चेपाङ समुदायले राष्ट्रिय पर्वका रूपमा आफ्नो घरघर र टोलमा मनाउँदै आएको न्वागी पर्वलाई नेपाल चेपाङ सङ्घको अगुवाइमा २०६३ सालदेखि भने भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया