उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ ।
जेनजी समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते दिउँसो उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर-२१ का १९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा आज मृत्यु भएको हो ।
ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपप्रमुख अधिकारीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
यस्तै पूर्वी चितवनको भण्डारामा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जनाको मृत्यु भएको छ । आज बिहान राप्ती नगरपालिका-७ सिक्सग्रुपस्थित अमृतपानी खानेपानी तथा सरसफाइ समितिको चेम्बरभित्र स्थानीय ४० वषीय कमल घलेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया