वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट

नेपालखोज २०८२ भदौ २८ गते १३:५२

पर्सा । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ ।

प्रदर्शनकारीले वीरगञ्ज महानगर परिसरमा रहेका साना-ठूला आधा दर्जन भवन र डेढ दर्जनभन्दा धेरै सवारीसाधनमा आगजनी गरेर क्षति पु¥याएका छन् । वीरगञ्ज महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्ण वीरगञ्ज महानगरका आधा दर्जन भवन जलेर नष्ट भएको बताए ।

‘वीरगञ्ज महानगर परिसरमा छ वटा भवन रहेका छन् । तीमध्ये सबैजसो भवन जलेका छन्’, उनले भने, ‘जलेका भवनमा महानगरको कार्यालय सञ्चालन गर्न सक्ने अवस्थामा रहेका छैनन् ।’

जेनजी प्रदर्शनीमा अराजक समूहले महानगरका महत्वपूर्ण कागजात जलाएर खरानी बनाइदिएपछि महानगर कसरी सञ्चालन गर्ने चुनौती थपिँदै गइरहेको छ । यद्यपी अहिले वीरगञ्ज महानगरका सरसफाइ कर्मीले परिसर वरपर सरसफाइका कामलाई अघि बढाउँदै आइरहेका छन् ।

प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख कर्णले प्रदर्शनकारीले १३ वटा सवारीसाधन र सात वटा मोटरसाइकल जलाएर नष्ट पारेको जानकारी दिए ।

वीरगञ्ज महानगरको यान्त्रिक महाशाखाका प्रतिनिधि जयराम महतोले वीरगञ्ज महानगरका १३ वटा सवारीसाधन जलेर नष्ट भएको बताए ।

उनले सवारीसाधन जल्दा करिब रु आठ करोड बराबरको क्षति भएको दाबी गरे । यसैबीच वीरगञ्ज महानगरको नगरप्रहरीले महानगरको सामान लुटपाट गरेर लैजानेसँग फिर्ता ल्याउने अभियान अघि सारेको छ । महानगरबाट लुटपाट गरेका सामान बिहीबारदेखि फिर्ता ल्याउने अभियान अघि सार्दै आइरहेको छ ।

वीरगञ्ज महानगरले पछिल्लो समय हार्डडिस्क नौ थान, केबल टेस्टर एक थान, कन्भर्टर तीन थानलगायतका सामान बरामद गरेको छ । त्यस्तै गरी टेबल, कुर्सी, फर्निचरलगायतका बरामद गर्दै आइरहेको छ ।

प्रतिक्रिया