गाउँपालिकामा पाँच करोड क्षति दसैँअघि कार्यालय सञ्चालनमा नआउने

चितवन । जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण चितवनको इच्छाकामना गाउँपालिकामा ठूलो क्षति पुगेको छ ।
गाउँपालिकाले शुक्रबार गरेकोे अनुगमनका क्रममा करिब रु पाँच करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ चढ्ने स्कोरपियो गाडी, उपाध्यक्ष माया सिलवाल चढ्ने महिन्द्रा बलेरो गाडी र चालु हालतमा नरहेको मारुती गाडी गरी तीन थान गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ भने तीन वटा मोटरसाइकल जलेर नष्ट भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।
उहाँका अनुसार पालिका प्राङ्गणमा नै रहेको एक थान जेसिबी र एक थान टिप्पर गाडीमा क्षति पुगेको छ । गाउँपालिकाको प्रशासनिक भवनको सबै झ्यालको सिसा फुटाउनुका साथै हरेक शाखाको फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत जिन्सी सामग्रीको तोडफोड र कागजपत्र जलाएर नष्ट पारिदिएको छ भने वडा नं. ४ को कार्यालयको माथिल्लो तलामा रहेको कृषि र पशुशाखाका सम्पूर्ण सामग्री, कागजपत्र, प्रयोगशालाको मेसिन कामै नलाग्ने गरी तोडफोड र जलाइ दिएका छन् ।
इच्छाकामना गाउँपालिकाको सात वटा वडाहरुमध्ये दुई वटा वडामा ठूलो क्षति पुर्याएको छ । गाउँपालिकासँगै रहेको वडा नं. ४ को कार्यालयको भित्रि भागमा क्षति नपुर्याए पनि झ्यालमा क्षति पुगेको छ भने वडा कार्यालयको माथिल्लो दुई तलामा पूर्ण क्षति पुर्याएको छ ।
यस्तै हपनीमा रहेको वडा नं. २ को कार्यालयमा करोडभन्दा बढी क्षति पुगेको छ । हाल रहेको वडा कार्यालयभित्रै आगजनी गरिदिएका कारण कार्यालयभित्र रहेको सम्पूर्ण जिन्सी सामान र कागजपत्र पूर्णरुपमा जलेर नष्ट भएको छ भनेसँगै बनाएको उद्घाटन गर्न बाँकी रहेको नवनिर्मित कार्यालय भवनमा आगो लगाइ तोडफोड गरेको क्षति पुगेको छ ।
आन्दोलनकारीले कार्यालय तोडफोडका क्रममा एक जना कर्मचारीलाई कुटपिट गरेको छ । कार्यालयको आइटी शाखामा कार्यरत शाखा प्रमुख श्रीराम त्रिपाठीलाई आन्दोलनकारीले कुटपिट गरेका थिए । कुटपिटबाट त्रिपाठीको टाउकोमा चोट लागेको छ ।
विध्वंसबाट भएको क्षतिले तत्काल कार्यालयको सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनले दसैँअघि कार्यालयको सेवा सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए ।
यद्यपि सकेसम्म छिटोभन्दा छिटो कार्यालयको सेवा सञ्चालन गर्ने गरी शुक्रबारदेखि नै काम थालिएको उनले बताए ।

प्रतिक्रिया