कतार इजरायलबीचको कूटनीतिक दूरी बढ्दै,गाजा युद्ध अझै जटिल बन्दै

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ । यो भेटले अमेरिका, कतार र इजरायलबीचको संवेदनशील कूटनीतिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
उक्त भेटपछि रुबियो आइतबारदेखि दुई दिने इजरायल भ्रमणमा जानुहुनेछ, जहाँ उहाँले इजरायली नेतृत्वसँग क्षेत्रीय सुरक्षा, गाजा युद्धसम्बन्धी वर्तमान अवस्था तथा बन्धक मुक्तिका सम्भावनाबारे छलफल गर्नुहुनेछ।
ट्रम्प प्रशासनको संवेदनशील सन्तुलन प्रयास
हालै इजरायलले कतारको राजधानी दोहामा हमासका नेताहरूलाई लक्षित गरी गरेको कारबाहीका कारण कतार, साउदी अरेबिया र युएईजस्ता खाडी मुलुकहरूमा असन्तुष्टि देखिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त कारबाहीले अमेरिका वा इजरायलको दीर्घकालीन हितमा योगदान नपुर्याउने टिप्पणी गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले समेत उक्त आक्रमणको आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ।
कतारका प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठकमा बोल्दै गाजामा रहेका बन्धकहरूको सुरक्षाप्रति चासो व्यक्त गर्नुभएको छ र कूटनीतिक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाउनुभएको छ।








प्रतिक्रिया