पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

नेपालखोज २०८२ भदौ २८ गते २१:०८

टङ्कीसिनुवारी (मोरङ) । नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयको सरसफाइ गरिएको छ । महासङ्घको नेतृत्वमा कार्यालय पुगेका दुई दर्जन बढी पत्रकारले आज बिहान कार्यालय परिसरभित्र र बाहिर सरसफाइ गरेका हुन् ।

गत मङ्गलबार ‘जेनजी’ प्रदर्शनका क्रममा देशैभर सरकारी कार्यालयमा तोडफोड र आगजनीका घटना भएका थिए । जिल्ला प्रशासन कार्यालयमा पनि तोडफोड गर्नुका साथै आगो लगाइएको थियो । आगोबाट कार्यालयका सम्पूर्ण भौतिक संरचना र कागजात जलेर नष्ट भएका छन् । कार्यालय कोठा र परिसरभरि जलेका सामग्रीका राख थुप्रिएका थिए ।

आज पत्रकारले राख र अन्य फोहरको उचित स्थानमा व्यवस्थापन गर्दै कार्यालयलाई सफा गरेका हुन् । जिल्लास्थित नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुशीला पाठकले शान्तिसुरक्षा कायम गर्ने÷गराउने जिल्ला प्रशासन कार्यालयजस्तो संवेदनशील संस्थाबाट सहज रूपमा सेवा प्रवाहमा सहयोग पु¥याउने उद्देश्यले का लागि पत्रकारहरूले कार्यालय परिसरको सरसफाइ गरेको बताए ।

नेपाल पत्रकार महासङ्घ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यालयको सरसफाइ गरिएको बताए । उनले कार्यालय परिसरमा केही दिनदेखि जलेका सामग्रीका फोहर, राख र फ्टेका सिसाजन्य वस्तु थुप्रिँदा सेवा प्रवाहमा अवरोध उत्पन्न हुनुका साथै वातावरणमा पनि असर पर्ने हुनाले बिहानदेखि सरसफाइ थालिएको उल्लेख गरे ।

प्रतिक्रिया