अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालखोज २०८२ भदौ २९ गते १४:२८

नेपालगञ्ज । आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी रुपमा आजदेखि सेवाप्रवाह गर्न सुरु गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले सेवा प्रवाह सुरु गरेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यालय परिसरमा टेन्ट टाँगेर सेवा प्रवाह सुरु गरिएको जानकारी दिए । कार्यालयमा सरसफाइ र व्यवस्थापनको काम पनि भइरहेको उनको भनाइ छ । उनले अवरुद्ध भएको विद्युत् जडान र शौचालय सरसफाइसमेत गरिएको बताए ।

उपमहानगरपालिकामा स्वास्थ्य सेवा सुरु गरिएको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

भन्सार कार्यालय नेपालगञ्जले पनि औपचारिक रुपमा कार्यालयमा सञ्चालनमा ल्याएको जनाएको छ । भन्सार कार्यालय, नेपालगञ्जका सूचना अधिकारी पवित्रकुमार खड्काले आयात निर्यात र जाँचपास सुरु भएको जानकारी दिए ।

उनले कार्यालयमा आगजनी र तोडफोड भएकाले प्रशासनिक र मुद्दामामिलाका काम सञ्चालन हुन अझै केही समय लाग्ने उल्लेख गरे ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले आजदेखि बन्दीप्रत्यक्षकरणको रिट निवेदनसम्बन्धी काम सुरु गर्ने जनाएको छ । त्यसका लागि बार, बेञ्च र सरकारी वकिलको कार्यालयसँग छलफल गरिएको थियो । जिल्ला अदालतले सेवा प्रवाह कसरी गर्ने भन्ने विषयमा छलफल गर्दैछ ।

यसअघि जिल्ला प्रशासन कार्यालय, बाँकेले न्यूनतम सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर कार्यालय प्रमुखसँग छफफलसमेत गरेको थियो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह तत्काल सुरु गर्न अप्ठ्यारो स्थिति रहेको बताए ।

बाँकेमा निजी तथा सरकारी विद्यालय सञ्चालनमा आएका छन् । विद्यालयका दोस्रो चरणको परीक्षाका तयारीका लागि पनि विद्यालय सञ्चालनमा आएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया