कैलाली भन्सार कार्यालयद्वारा आजदेखि नियमित सेवा सञ्चालन

नेपालखोज २०८२ भदौ २९ गते १५:५८

कैलाली । जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आजदेखि नियमित सेवाप्रवाह सञ्चालन गरेको छ ।

क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्न समय लाग्ने भएकाले सवारीसाधन पार्किङ र गाडी मर्मतका लागि प्रयोग हुँदै आएको भवनबाट सेवाप्रवाह सञ्चालन गरिएको हो ।

भन्सार कार्यालयको पश्चिम-दक्षिण प्रवेशद्वारमा रहेको भवनबाट सीमित साधन स्रोतबाट सेवा सञ्चालन गरिएको भन्सार कार्यालयले जनाएको छ । याे भवनबाट बैंकको काउन्टर, आयातनिर्यातको स्वीकृतिलगायतको काम हुँदै आएको भन्सार कार्यालयका सूचना अधिकारी खेमप्रसाद अर्यालले बताए ।

भन्सार कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट प्रशासनिक भवन, कर्मचारी निवास, सवारीसाधन, महत्वपूर्ण फाइलहरू, तथ्याङ्कलगायत सामग्री नष्ट भएको उनले जानकारी दिए ।

कैलाली भन्सार कार्यालयले आयातनिर्यातको काम आजदेखि पुनःसञ्चालन गरेको छ । नेपाल आयलनिगम धनगढीको आग्रहमा पेट्रोलियम पदार्थका ट्याङ्कर भने बिहीबार नै धनगढी आयात गरिएको थियो ।

आजदेखि अन्य अतिआवश्यक वस्तुको आयात तथा निर्यातको काम कैलाली भन्सार कार्यालयले पूर्ण रुपमा सञ्चालन गरिएको सूचना अधिकारी अर्यालले जानकारी दिए । आजमात्रै भारतबाट सो भन्सार भएर २५ वटा मालबहाक गाडी भित्रिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया