बिहीबार, पुष १०, २०८२

कतार आक्रमणपछि रुबियोको इजरायल भ्रमण, युद्धविराम प्रयासमा नयाँ तनाव

नेपालखोज २०८२ भदौ २९ गते १७:०१

तेल अभिव । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार इजरायलको भ्रमण सुरु गरेका छन् । कतारमा आक्रमण भएपछि हमाससँगको युद्धमा आफ्नो सहयोगीलाई ट्रम्प प्रशासनको अटल समर्थन व्यक्त गरेपछि इजरायलको व्यापक आलोचना भएको छ । यो भ्रमण राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार दोहामा हमास नेताहरूको बैठकमा इजरायलले गरेको अभूतपूर्व आक्रमणप्रति असन्तोष व्यक्त गरेपछि भएको हो ।

यसले अमेरिकी सहयोगी कतारविरुद्ध इजरायलको पहिलो प्रत्यक्ष आक्रमणलाई चिह्नित गरेको छ र गाजामा युद्धविराम ल्याउने कूटनीतिक प्रयासहरूमा नयाँ तनाव थपेको छ । शनिबार प्रस्थानअघि रुबियोले पत्रकारहरूसँग भने, राष्ट्रपति ट्रम्प आक्रमणबारे खुसी थिए, तर यसले इजरायलसँगको हाम्रो सम्बन्धमा कुनै परिवर्तन ल्याउँदैन । यद्यपि उनले यस घटनाले युद्धविराम प्रयासमा असर पार्ने भएकाले ‘यसबारे कुरा गर्नुपर्ने’ बताए । दोहामा भएको इजरायली आक्रमणले संयुक्त राज्य अमेरिकाद्वारा अघि सारिएको नयाँ युद्धविराम प्रस्तावबारे छलफल गर्न भेला भएका हमास नेताहरूलाई लक्षित गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वरिष्ठ हमास अधिकारीहरूको हत्या युद्ध अन्त्य गर्न ‘मुख्य बाधा हटाउने कदम’ भएको भन्दै अपरेसनको बचाउ गरेका छन् । युद्धको बीचमा इजरायलले गाजा सहर नियन्त्रणमा लिन दबाब बढाएको छ । बासिन्दाहरूलाई खाली गर्न आदेश दिँदै हमास प्रयोग गरेको भन्दै धेरै अग्ला भवनहरू उडाइएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार अगस्टको अन्त्यसम्म गाजा सहर र आसपास करिब १० लाख मानिस बसोबास गर्दै आएका थिए। खाद्य अभाव चर्किँदै जाँदा संयुक्त राष्ट्रसङ्घले इजरायली प्रतिबन्धलाई दोष दिँदै अनिकाल घोषणा गरेको छ ।

बेलायत, फ्रान्सलगायत पश्चिमी राष्ट्रहरू यस महिनाको संयुक्त राष्ट्रसङ्घीय बैठकमा प्यालेस्टिनी राज्यलाई मान्यता दिन तयार देखिएका छन् । तर इजरायलले अझै आफ्नो सबैभन्दा शक्तिशाली सहयोगी र प्रमुख हतियार आपूर्तिकर्ता अमेरिकाको समर्थन कायम राखेको छ । रुबियोको भ्रमणअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगटले प्रमुख कूटनीतिज्ञले ‘हमासको आतङ्कवादलाई पुरस्कृत गर्ने प्यालेस्टिनी राज्यलाई एकपक्षीय मान्यता दिने जस्ता इजरायल विरोधी कदमहरू विरुद्ध लड्ने प्रतिबद्धता देखाउने’ बताए ।

यसबीच, नेतान्याहु सरकारलाई गाजामा रहेका इजरायली बन्धकहरूको रिहाइको साटो युद्ध अन्त्य गर्न दबाब बढेको छ । बन्धक परिवारहरूको प्रमुख अभियान समूह होस्टेज एन्ड मिसिङ फेमिलिज फोरमले शनिबार नेतान्याहुलाई बन्धक मुक्तिको ‘मुख्य बाधा’ भएको आरोप लगाएको छ । सन् २०२३ अक्टोबरमा अपहरण गरिएका दुई सय ५१ मध्ये अझै ४७ जना गाजामा रहेका छन्, जसमा २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । मिडल इस्ट इन्स्टिच्युटका वरिष्ठ फेलो ब्रायन काटुलिसले रुबियोले इजरायललाई युद्धविरामतर्फ धकेल्ने सम्भावना नगण्य भएको बताए ।

उनले भन, ‘गाजामा युद्धविराम ल्याउनमा चिन्ताजनक निष्क्रियता देखिएको छ । प्रशासन आफ्नो आधार इभान्जेलिकल इसाईहरूलाई बढी सुन्दै गएको जस्तो देखिन्छ । जेरुसेलममा रुबियोले आइतबार प्रधानमन्त्री नेतान्याहुसँग भेटेर पश्चिमी पर्खाल भ्रमण गर्ने कार्यक्रम छ ।

सन् २०२३ अक्टोबरमा हमासको इजरायलमाथिको आक्रमणबाट सुरु भएको युद्धमा आधिकारिक तथ्याङ्कअनुसार एक हजार दुई सय १९ जना मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाहीमा हालसम्म कम्तीमा ६४ हजार आठ सय तीन जना मारिएका छन्, जसमा ठूलो सङ्ख्यामा नागरिक रहेका छन् ।

प्रतिक्रिया