दूध बिक्री गरेर मासिक एक लाख आम्दानी

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय दुबईमा रोजगारी गर्दै आएका थिए । विसं २०७६ मा बुबाको निधन भएपछि स्वदेश फर्किएका उनले पुनःरोजगारीका लागि दुबई जाने निधो गरे । यसका लागि टिकट समेत तय भइसकेको थियोे । तर कोभिड सङ्क्रमणका कारण अन्तरराष्ट्रिय उडान बन्द भएपछि उनको दुबई जाने सपना पूरा भएन ।
वैदेशिक रोजगाजारीमा जान नसकेपछि उनले जीविकोपार्जनका लागि स्वदेशमै केही गर्ने उपाय खोजे । यसपछि उनले ३० हजारमा एउटा गाई खरिद गरे । ‘रोजगारी भएन कोभिडले वैदेशिक रोजगारीमा समेत जान पाइएन त्यसपछि जीविकोपार्जनका लागि केही गर्नुपर्छ भन्ने लाग्यो’, उनले भने, ‘त्यसबेला दूधको माग बढी थियो त्यही भएर मैले गाई पाल्न सुरु गरे माग धेरै आउन थालेपछि छ महिनापछि अर्को गाई थप गरे ।’
दूध बिक्री गरेरै छ महिनामा गाई किनेको रकम असुल भएपछि उनलाई स्वदेशमै पनि दूध बिक्री गरेर आम्दानी गर्न सकिने रहेछ लाग्यो । गाईको दूधभन्दा भैँसीको दूधको माग बढी आउन थालेपछि उनी व्यावसायिक रुपमा भैँसीपालनमा लागे । सुरुआतमा तीन भैँसी खरिद गरेर भैँसीपालन सुरु गरेका उहाँको फार्ममा अहिले सानाठूला गरी ३२ वटा भैँसी छन् ।
छ महिनामै गाई किनेको रकम असुल भएपछि थप अर्को गाई थपे त्यसपछि पनि दूधको धेरै माग आउन थाल्यो गाईको भन्दा भैँसीको दूध खोज्ने धेरै आए, पाण्डेयले भने, त्यसपछि मैले तीन वटा भैँसी ल्याएर भैँसीपालन सुरु गरे दूधको माग धेरै आउन थालेपछि हरेक वर्ष भैँसी थप्दै गए । अहिले दुई पटक दूध दिने पाँच वटा र बिहान एक पटक दूध दिने सात वटा भैँसीबाट दैनिक ४० लिटर दूध बजारमा बिक्री हुने गरेको छ । उनले भैँसीपालन गरेर तीन जनालाई रोजगारी समेत दिएका छन् ।
विदेशकोभन्दा आफ्नै देशमा व्यवसाय गरेर आम्दानी गर्दा खुसी लाग्ने गरे पनि व्यवसाय गर्ने युवालाई सरकारीस्तरबाट पर्याप्त सहयोग हुन नसकेको उनले गुनासो गरे । उनले दूध बिक्रीबाट भइरहेको आम्दानीबाट खुसी भएको बताउँदै वास्तविक किसानलाई राज्यले सहयोग गर्नसके स्वदेशमै मेहनत गर्नेहरुलाई सहयोग पुग्ने बताए ।

प्रतिक्रिया