‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

नेपालखोज २०८२ असोज १ गते १६:०६

काठमाडौं । आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पर्वक रूपमा मानिन्छ । सिंहदरबारका सरकारी सवारी चालकहरू विगतका वर्षमा आजका दिन विश्वकर्मा पूजा गर्दै उत्साहका साथ यो पर्व मनाउँथे । यस वर्ष भने सिंहदरबारमा कुनै पूजाआरधना भएन । मात्रै जलेर खण्डहर भएका सवारीसाधन अलपत्र देखिए ।

जलेर अस्थिपञ्जर भएका सवारीसाधनको पहिचान गर्दै कागजमा टाँसेर फलनाको सवारी भन्दै नामकरण गरिएको छ । फुटेका सवारीलाई भने प्लास्टिकले छोपेर सुरक्षित राखिएको छ ।

सिंहदरबारभित्र जलेका सवारीसाधन देख्दा गृहमन्त्रालयका सवारी चालक राजाराम कोइरालाको मन अत्तालिन्छ । उनका अनुसार चालकका लागि सवारीसाधन मन्दिरजस्तै पवित्र हुन्छ । ‘आफूलाई चोट लागे खासै वास्ता हुँदैन तर, आफूले चलाउने सवारी खरानी हुँदा मन रुँदोरहेछ’, उनले भने, ‘विश्वकर्मा पूजा गरिरहने बस फुटेर देख्नै नहुने भएको छ । पूजा कसरी गर्ने ?’

जेनजी प्रदर्शनको दोस्रो दिन सिंहदरबारमा आगलागी भयो भनेको सुनेपछि सामाजिक सञ्जालममा गृहमन्त्रालयका सवारीसाधन दन्दन्ती जलेको देखेर सवारी चालक कोइरालालाई आफूले चलाएको सवारीसाधनको तस्बिर आँखाभरि घुमिरह्यो । के भयो, कसो भायो ? थाहा नभएको भन्दै उनी मनमा कौतुहलता मात्र मच्चिएको बताए ।

भोलिपल्ट बिहानै कफ्र्यु लागिरहेकै समयमा म सिंहदरबार पुगेँ, सवारीको अवस्था बुझ्न । मन्त्रालयको पार्किङमा पुग्दा थुप्रै गाडीहरू धन्किएका थिए । मैले कर्मचारी बोक्न चलाउने बस बने घाइते अवस्थामा थियो । सिसा फुटेर देख्न नसक्ने भएको रहेछ । तर, आगो लागेको थिएन । एउटा चालकका लागि सवारीसँगको सम्बन्ध नङ र मासुजस्तै घनिष्ठ हुन्छ । हाम्रा लागि सवारीसाधन मन्दिर हो भने, हामी उसका साधक हौँ, चालक कोइराला भने, फुटेका सिसा फेरेर छिट्टै गुड्ने बनाउँछौँ ।

विगतमा सिंहदरबारका सवारीचालकहरू मिलेर फूल, नरिवल, ध्वजा, धुप किनेर पूजाआरधना गर्थे । पूजा गर्ने र लड्डु खाएर उत्सव मनाउँथे । विश्वकर्मा पूजाको रौनकले सिंहदरबारका अरु कर्मचारीलाई पनि रमाइलो महसुस गराउँथ्यो । गृहमन्त्रालयका कर्मचारी केदार घिमिरेका अनुसार विश्वकर्मा पूजामा सिंहदबारका सबै सवारीसाधन सफा, चिटिक्क परेका हुन्थे । अझ भनाैँ त्यो दिन सवारीसाधन बेहुलीजस्तै सजिएका हुन्थे, उनी विगत सम्झिँदै थपे, अहिले देख्नै नसक्ने गरी जलेका छन् । दुःख लागेको छ ।

कानुन मन्त्रालयमा नौ वर्षदेखि सवारी चालकका रूपमा काम गर्दै आएका लीलाबहादुर बोगटी सवारीसाधन आफ्ना लागि जीवनकै महत्त्वपूर्ण पाटो रहेका बताए । उनका लागि सवारीसाधन रोजीरोटीको जोह गर्ने मुख्य आधार हो । सवारीसाधन र सवारी चालकबीच निकै संवेदनशील सम्बन्ध जोडिएको हुने उनको अनुभव छ ।

हिँड्दाहिँड्दै, गुड्दागुड्दै साथ नदिएको बेला के गर्ने ? बोगटी प्रश्न गर्दै भने आफूले चलाउने सवारीको निकै माया लाग्ने रहेछ । सहसचिवको सवारी चलाउने उनले भने, सवारीसाधन कहिल्यै फोहोर बनाइन र कोरिएकोसमेत थिएन । यति माया र जतन गरेको सवारी अहिले फुटेर देख्नै नहुने भएको छ । अहिले मेरो मन पनि त्यही चकनाचुर सिसाजस्तै चर्किएको छ । त्यो सवारीसाधन मेरो लागि साथीजस्तै थियो ।

सिंहदरबारभित्रका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मन्त्रालय र विभिन्न निकायका गरी ७५० मोटरसाइकल तथा स्कुटरसहित अन्य ३५० सवारीसाधन जलेर नष्ट हुनुका साथै क्षतिग्रस्त भएका छन् ।

यसैबीच, गृहमन्त्रालयले देशभर सवारीसाधन र कार्यालयमा भएका क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको मन्त्रालयका सहसूचना अधिकारी एवं उपसचिव रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार गृहमन्त्रालयमा अधिकांश सवारीसाधन जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया