संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एमाले अध्यक्ष ओलीको अपिल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्ने कार्यमा एकताबद्ध हुन अपिल गरेका छन् ।
संविधान दिवसका अवसरमा आज वक्तव्य जारी गर्दै उनले देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै जारी भएको संविधान नेपाली जनता आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा भएको उल्लेख गरे ।
अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा घुसपैठ भई हिंसा मच्चाउँदा युवाको ज्यान गएकामा दु:ख व्यक्त गर्दै उनले तत्कालीन सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको स्पष्ट गरे ।
‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले भनेका छन्, ‘यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईंहरूको सम्झनामा ताजै छन् । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।’
अध्यक्ष ओलीले संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्ने गरी भूपरिवेष्ठित देशलाई भू-जडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचना बनाइरहेको र उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेको स्मरण गरे ।
अध्यक्ष ओलीले युवाले काजी भीम मल्ल देशको सिमाना विस्तार गरेर देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रहेको घटना पनि स्मरण गरेका छन् ।

प्रतिक्रिया