अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा

नेपालखोज २०८२ असोज ३ गते २०:१४

वीरगञ्ज (पर्सा) । मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी बाघलाई आज बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले ‘डार्ट’ हानेर उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले बाराको अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘गत असारयता वन क्षेत्रमा चार जना मान्छेको मुत्यु भएको रहेछ । स्थानीयले बाघबाटै मृत्यु भएको भनेकाले उक्त बाघलाई प्राविधिक टोलीले डार्ट हानेर नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘बाघको आक्रमणबाट अमलेखगञ्ज आसपासका जनता त्रसित र डर, त्रास देखिएकाले पनि उक्त बाघलाई नियन्त्रणमा लिइएको हो ।’ सूचना अधिकारी भगतले नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखिएको जानकारी दिए । -रासस

प्रतिक्रिया