अवरुद्ध सडक खुलाउन सरकारको पहल सुरु

नेपालखोज २०८२ असोज ४ गते १४:३९

काठमाडौं । मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ ।

शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका छन् । याे बैठकमा दसैँ र तिहारका लागि यातायात व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने विषयमा छलफल गरिने र त्यसका लागि कार्यदल बनाउने जनाइएको छ ।

हिजो साँझ करिब ६:३० बजेदेखि मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियो । करिब ७० मिटर माथिबाट निरन्तर ढुङ्गा झरिरहेको र आज बिहान ७:४० मा पुन: ठूलो पहिरो खसेर सडक अवरुद्ध छ ।

हाल याे स्थानमा तीन वटा ‘लोडर’ र एउटा ‘स्काभेटर’ परिचालन गरी दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । थप पहिरो नखसेमा कम्तीमा चार घण्टापछि सडक सञ्चालन हुने सम्भावना छ ।

प्रतिक्रिया