हुम्ला आउन छोडे चिनियाँ च्याङ्ग्रा

नेपालखोज २०८२ असोज ४ गते १८:४१

हुम्ला । कोरोना सङ्क्रमण भएपछि सदरमुकाम सिमकोटसहित हुम्लाभरि चिनियाँ च्याङ्ग्रा आउन छोडेका छन् । कुनै समय दसैैँ, तिहारलगायत पर्वमा सुरु हुन लाग्दा सदरमुकाम सिमकोटसहित हुम्लाभरिका गाउँघरमा चिनियाँ च्याङ्ग्रा मात्रै हुने गर्दथे ।

विसं २०७७ को कोरोना सङ्क्रमणका बेला यहाँ चिनियाँ च्याङ्ग्रा भित्रिन नसक्दा सर्वसाधारणले स्थानीय खसीबोका खरिद गरेर विभिन्न पर्व मनाउँदै आएका छन् । छ वर्ष यतादेखि चिनियाँ च्याङ्ग्रा हिल्सा नाका भएर सदरमुकाम सिमकोट पुग्न नसकेपछि स्थानीय खसीबोकाको माग बढ्दै गएको व्यापारी बताउँछन् ।

गत वैशाख १८ गतेदेखि नेपाल र चीनको सिमाना हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि चीनमा खसीको मूल्य महँगो हुँदा हुम्ला भित्रिन नसकेको खसी व्यापारी धनजित भण्डारीले बताए । उनका अनुसार चीनमा यो वर्ष चिनियाँ च्याङ्गाको मूल्य रु ३० हजारदेखिमाथि पर्ने गरेको छ ।

चिनियाँ च्याङ्गाको मूल्य आयात गर्न महँगो पर्ने भएकाले यहाँका व्यापारीले ल्याउन नसकेका भण्डारीले बताए ।

विगतका वर्षहरूमा चीनको ताक्लाकोट, पुराङ्काउण्टीलगायत क्षेत्रमा हुम्लाका व्यापारी पुगेर चिनियाँ च्याङ्ग्रा खरिद गरी ल्याएर बिक्री गर्नेमा पछिल्ला वर्षमा यो क्रम घट्दै गएको खसी व्यापारी भण्डारीले उल्लेख गरे । हुम्ला पुग्ने ताक्लाकोट, पुराङ्काउण्टीमा च्याङ्ग्रा पाउन छाड्नुका साथै महँगो पर्ने भएकाले आयात गर्न समस्या हुने उनको भनाइ छ ।

छ वर्षअघि हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायत नाकाबाट चिनियाँ च्याङ्ग्रा यहाँ भित्रिने गरेकामा पछिल्ला वर्षहरूमा आउन छोडेका हुन् । दसैँ नजिकिँदै यसपाली चिनियाँ च्याङ्ग्रा आउने सम्भावना पनि टर्दै गएको छ । चिनियाँ च्याङ्ग्राभेँडा ल्याउन कसैले पनि चासो नदिएका भण्डारीको भनाइ छ ।

यसपालि दसैँका लागि चिनियाँ च्याङ्ग्राभेँडा आउने सम्भावना अत्यन्त न्यून छ । आजको दिनसम्म च्याङ्ग्रा आयातका लागि हिल्सा भन्सारमा एउटा पनि स्वीकृति माग नभएको सोही कार्यालयका प्रमुख रामराज जैसीले बताए ।

प्रतिक्रिया