तालिवानको रिहाइपछि दोहा पुगेका बेलायती वृद्ध दम्पती शनिबार स्वदेश फर्किने

नेपालखोज २०८२ असोज ४ गते १८:५४

काठमाडौं । अफगानिस्तानमा करिब आठ महिनाको हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पती शनिबार स्वदेश फर्किने कतारी अधिकारीहरूले जनाएका छन् ।

तालिबान अधिकारीहरूले फेब्रुअरीमा ८० वर्षीय पिटर रेनोल्ड्स र उनकी पत्नी ७६ वर्षीया बार्बीलाई मध्य अफगानिस्तानको बामियान प्रान्तमा आफ्नो घर फर्कने क्रममा पक्राउ गरेका थिए ।

अफगानिस्तानी नागरिकता लिइसकेका रेनोल्ड्स र बार्बीले अफगानिस्तानको शैक्षिक उन्नतिका लागि करिब दुई दशकदेखि काम गर्दै आएका थिए ।

उनीहरूले बिशेष गरी महिला र बालबालिकाका लागि शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए ।

वृद्धद्वयको स्वास्थ्यको चिन्तापछि उनीहरूलाई कतारको मध्यस्थतामा शुक्रबार मुक्त गरिएको थियो भने उनीहरू शुक्रबार नै एक उडानमार्फत कतारको राजधानी दोहा पुगेका थिए ।

स्वास्थ्य परीक्षण पूरा गरेर उनीहरु शनिबार व्यावसायिक उडानबाट लन्डन जाने बताइएको छ ।

रेनोल्ड्सले सन् १९७० मा काबुलमा विवाह गरेका थिए र लगभग दुई दशक अफगानिस्तानमा बसेर महिला र बालबालिकाका लागि शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेका छन्। अफगानिस्तानमा शैक्षिक तथा सामाजिक कामसँगै उनीहरुले अफगानी नागरिकता प्राप्त गरेका थिए ।

शुक्रबार दोहा प्रस्थान गर्नुअघि, काबुल एयरपोर्टको धावनमार्गमा एक विमान नजिकै दाह्री पालेका आफ्ना पतिको छेउमा रातो स्कार्फ लगाएर उभिएकी बार्बीले संक्षिप्तरूपमा भने, ‘हामीलाई धेरै राम्रो व्यवहार गरिएको छ । अहिले हामी हाम्रा बच्चाहरूलाई भेट्न आतुर छौँ ।’

कतारले उनीहरुको रिहाइका लागि वार्तालाई सहजीकरण गरेको थियो । सन् २०२१ मा तालिबान सत्तामा फर्किँदा बेलायती दूतावासको सल्लाहविरुद्ध उनीहरू अफगानिस्तानमै रहेका थिए ।

अफगानिस्तानका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहर बल्खीले सामाजिक सञ्जालमा पोस्ट गरेको एक विज्ञप्तिमा उक्त दम्पतीलाई अफगानिस्तानका लागि बेलायतका विशेष प्रतिनिधि रिचर्ड लिन्डसेलाई हस्तान्तरण गरिएको उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार ती दम्पतीलाई पहिले अधिकतम सुरक्षा केन्द्रमा राखिएको थियो तर पछि ‘दिनमा पनि उज्यालो नदेखिने’ भूमिगत कोठरीमा राखिएको थियो र त्यसपछि उनीहरूलाई काबुलको गुप्तचर सेवामा स्थानान्तरण गरिएको थियो ।

प्रतिक्रिया