सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

रामपुर (पाल्पा) । युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ ।
कुनै समय विद्यार्थी नियमित रूपमा विद्यालय नआउने, बिनापोशाक विद्यालय आउने, गृहकार्य नियमित नगर्ने, पढाइमा चासो नदिने, अभिभावकले पनि आफ्ना सन्तानले विद्यालयमा कस्तो पढिरहेका छन् भन्नेबारे बेवास्ता गर्ने गरेका थिए । शिक्षक नियमित रूपमा विद्यालय नआउने, आए पनि विद्यालय समयमा नबस्नेजस्ता समस्याले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अपेक्षाकृत रूपमा फेरिएको थिएन ।
शैक्षिक क्षेत्रमा युवा नेतृत्व आएपछि पछिल्ला वर्षमा भने धेरै परिवर्तनका लहर आएका छन् । यसको ज्वलन्त उदाहरण हुन् रामपुर नगरपालिकाका शैक्षिक संस्था । यहाँका शैक्षिक संस्थामा युवा नेतृत्वले धेरै सुधार हुँदै आएको छ ।
रामपुर आधारभूत विद्यालयमा तीन वर्षअघि विद्यार्थी सङ्ख्या न्यून थियो । विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल पथ्र्यो । कुनै समय यो अत्यधिक विद्यार्थी पढ्ने विद्यालयको अग्रपङ्क्तिमै पर्दथ्यो । समयानुकुल शैक्षिक गतिविधि अगाडि बढाउन नसक्दा बीचमा विद्यार्थी सङ्ख्या घटदै गयो ।
युवा नेतृत्वको कुशल जिम्मेवारीले अहिले विद्यालयको अवस्था बदलिएको छ । तीन वर्षअघि ८७ विद्यार्थी रहेको यो विद्यालय अहिले दोब्बर बढी छन् । यहाँ हाल दुई सय दुई विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा विद्यार्थी सङ्ख्या मात्र फेरिएको होइन, भौतिक संरचना, विद्यालयको पूरै वातावरण नै नयाँ स्वरुपको बनेको छ ।
युवाको गहन र कुशल जिम्मेवारीले विद्यालय फेरिने रहेछ, प्रधानाध्यापक विजय शर्माले भन्नुभयो । प्राथमिक तहमा स्थायी दरबन्दीमा नियुक्ति लिएपश्चात २०७९ चैत २० गते रामपुर आधारभूत विद्यालयमा पदस्थापन हुनुभएका प्रअ शर्माले तीन वर्षमै यसलाई नमूना विद्यालय बनाउन सफल भएका छन् ।
प्रअ शर्माले यो विद्यालयमा नियुक्ति लिँदा ८७ विद्यार्थी अध्ययनरत थिए । अहिले दुई सय दुई विद्यार्थी अध्ययनरत छन् । विसं २०६५ देखि बृहस्पति आधारभूत विद्यालय निस्दी गाउँपालिका–५ गल्धाबाट शिक्षण पेसा सुरु गरेका शर्माले विद्यालय सुधार गर्ने अठोट लिएर स्थायी नियुक्तिपश्चात रामपुर आधारभूत विद्यालय आएको बताए ।








प्रतिक्रिया