नेपाली काँग्रेस अब स्वच्छन्द छ, इतिहासको प्रभावबाट मुक्तिका लागि

जय प्रकाश आनन्द २०८२ असोज ५ गते ८:५६

नेपाली राष्ट्रिय काँग्रेसको कुरा न गरौं । वि.स.२००७ पछि मातृका प्रसाद कोइरालाको सभापतित्व काललाई अपवाद मान्ने हो भने नेपाली काँग्रेसमा सभापति पदको हस्तान्तरणको प्रक्रिया उदाहरणीय रहेको छ। समयको यो प्रवाह आज ७५ वर्षको भयो । यस अवधिमा पार्टी सभापतिको रूपमा शेरबहादुर मात्र यस्तो पात्र भए जसले पद हस्तान्तरणको त्यस सरल तथा स्वाभाविक प्रक्रियालाई दुरूह, दुर्येज्ञ बनाए ।

नेपाली काँग्रेसका चार चाणक्य कहलिएका बिपी कोइराला, सुवर्ण शम्सेर जबरा, गणेशमान सिंह र सूर्य प्रसाद उपाध्याय मध्ये सभापति पदका लागि एकाध पटक बाहेक कहिल्यै एकापसका विरुद्ध दाबी र हानथाप रहेन। कयौँ विषयमा यी चारका बिच गम्भीर मतभिन्नताहरू रहेको थियो। तर, सभापतित्व विवाद रहित रहेको थियो। एकर्का लाई पराजयको तहसम्म पुर्‍याउने खेल भएन। अपवादको रूपमा नेपाली काँग्रेसको वीरगन्ज सम्मेलनमा पार्टी सभापतिमा उम्मेदवारी दिएका धनमान सिंह परियारको पनि कुरा न गरौं, यो उम्मेदवारी केही थोरै समयका लागि चार चाणक्य कहलिएका मध्येसम्सेर कै क्षणिक असन्तुष्टिका कारणले मात्र दिन लगाइएको थियो।

नेका सभापतिको रूपमा बिपी कोइराला २०१७ पौष १ गते पछि जेल पर्नु भएपछि प्रवासमा रहनु भएका सुवर्ण शम्सेर अनेकौँ शक्ति केन्द्रहरूको उक्साहटका बाबजुद सभापति पदको दाबी गर्नु भएन। उहाँ झन्डै दुई वर्षसम्म बिपी, गणेशमान जीहरूको रिहाइको प्रयास गर्नु भयो। रिहाइको आशा नदेखिएपछि २०१८ सालमा भारतको पटनामा बोलाइएको सम्मेलनमा, राजा महेन्द्रको ताना शाहीको विरुद्ध सशस्त्र प्रतिरोध सञ्चालन गर्नका लागि उहाँलाई कार्यवाहक सभापति बनाइएको थियो। त्यस बखत, यस बाहेक कुनै विकल्प नरहेको अवस्था थियो।

लामो समय पश्चात्, बिपी कोइराला अमेरिकामा उपचार गराएर सन् १९७७ नोभेम्बर (विस २०३४, मङ्सिर) मा स्वदेश फर्किने क्रममा कलकत्तामा सुवर्ण जीलाई भेट्न जानु भएको थियो। अतिशय रुग्ण सुवर्ण शम्सेर बिपीको हात समाएर तपाईँको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईँलाई फिर्ता बुझाउँदछु भन्दै उदाहरणीय रूपमा सभापतित्व हस्तान्तरण गर्नु भयो। कलकत्ताबाट फर्किएर बिपीले पटनाको ‘आर ब्लक’ स्थित ‘एमएलए क्लब’मा आयोजित सभामा यो जानकारी गराउनु हुँदा म स्वयं पनि साक्षी रहेको हुँ। शायद यसको भोली वा पर्सी कै दिन सुवर्ण शम्सेर जीको देहावसान भएको थियो। वा, एकाध सप्ताह भित्र। नेतृत्व हस्तान्तरणको यो एक अनुपम उदाहरण थियो।

पटनाको त्यस सभामा किसुन जी पनि हुनुहुन्थ्यो । यसको साता नबित्दै बिपी पटनाबाट नेपाल फर्किनु भयो। राजा बीरेन्द्रसंग उनले त्यस्तै वचनबद्धता गर्नु भएको थियो, अमेरिकामा उपचार पछि नेपाल फर्किने बाचा। नेपाल फर्किनु अघि पटनाको सोही ‘एमएलए क्लब’ को सभामा आफू नेपाल फर्किएपछि अवश्य पनि पक्राउ परिने भन्नु हुँदै ‘आफू जेल परेपछि साथीहरू हाम्रा प्रिय साथी किसुन जी-कृष्ण प्रसाद भट्टराई)बाट निर्देशन पाई रहनु हुनेछ भन्नु भयो । यति मात्र भन्नु भयो।

पटनाबाट काठमाण्डौं फर्किन लाग्दा शानेवानीको विमानमा उनले योजनाबद्ध रूपमा सहयात्री बनाउनु भएको एक सहयोगी, जसको नेपाल फर्के पछि गिरफ्तार हुने सम्भावना थिएन उनलाई काठमान्डुमा सार्वजनिक गर्ने गरी एक खाम बन्दी पत्र दिनु भयो। यो पत्र सार्वजनिक गरिएपछि सबैले थाहा पाए बिपीले किसुन जीलाई नेपाली काँग्रेसको कार्यवाहक सभापति र परशु नारायण चौधरी एवं गिरिजा प्रसाद कोइरालालाई महामन्त्री तोक्नु भएको हो। यहाँ मैले यदि यो सत्य उल्लेख गरिन भने इतिहास प्रतिको बेइमानी हुनेछ कि बिपीले यो निर्णय शायद शाब्दिक रूपमा नै सत्य महान् उद्धार मना निस्पृह मानव गणेशमान जी को सहमतिबाट गर्नु भएको थियो। यो नेपाली काँग्रेसमा सभापतित्व हस्तान्तरणको अर्को अतुलनीय उदाहरण थियो।

विश्वास, सद्भाव र सहकार्यको यो परम्परा कलवलगुडीमा आई पुग्यो, जहाँ बिराटरूपधारी गणेशमान जीको सदिच्छा र गिरिजा बाबुको समर्थनबाट किसुन जी पार्टीको निर्विरोध सभापति हुनु भयो। सहमतिबाटै नेतृत्व हस्तान्तरणको यो पछिल्लो उल्लेखनीय उदाहरण थियो। त्यस दिनका समारोहमा, बस्नका लागि स्थान नपाएका धेरै बिल्लादार डंठेहरू पछि (भाद्र २३/२४, २०८२ सम्मका) काँग्रेसका भाग्य विधाता बनाइए। शेरबहादुरले तिनीहरूलाई काँग्रेसी सत्ताका ‘धुरी’ नै बनाई दिए। ती मध्ये कै धेरैले भन्दै गरेको सुनियो, शेरबहादुर बेगर काँग्रेस जीवित रहन सक्दैन। हो, यो सत्य हो।

किसुन जी पछि गिरिजा बाबु सभापति हुने बेलामा नेपाली काँग्रेसको अतुलनीय सहमतिको उदाहरण को इतिहासमा प्रतिस्पर्धाले प्रवेश पायो। तर पनि त्यो शिष्ट थियो। किसुन जीले आफू स्वयंलाई गिरिजा बाबुको विरुद्ध उम्मेदवार बनाउनु भएन। उहाँले चिरञ्जीवी वाग्लेलाई नेकाको सभापतिमा समर्थन गर्नु भयो । यसमा विवाद छैन कि बाग्ले नेपाली काँग्रेसका त्यस बखत दोस्रो पुस्ताका एक मुख्य नेता थिए। तर, यो पनि सत्य हो कि किसुन जीले वाग्लेको उम्मेदवारीबाट नेपाली काँग्रेस भित्र छाया युद्धको सुरुआत गराउनु भयो।

यसका लागि पार्टीका त्यस बेलाका दोस्रो तहका धेरै नेताहरू गुटगत ध्रुवीकरणका पात्र बन्न बाध्य भए। जब कि गिरिजा प्रसाद किसुन जी पछि हकदार हुनुहुन्थ्यो। तर, नेका भित्र घात प्रतिघात यस अघि नै सुरु भैसकेको थियो। काठमान्ड ! को उप निर्वाचनमा किसुन जीको पराजय यसको मुख्य प्रारम्भ बिन्दु थियो, यद्यपि यहाँ यस बारे चर्चा गर्नु परेन। गिरिजा बाबुको खिलाफमा उम्मेदवारीका लागि यहाँ यौटा तर्क दिन सकिन्छ कि एउटै व्यक्ति लामो समयसम्म पार्टी सभापति किन रहनेछु यो ठिक हो, जबकि यस अघिको नेपाली काँग्रेसका सभापतिहरूको लगभग असीमित पदावधिले यस तर्कलाई समर्थन गर्दैन।

गिरिजाबाबु पछि नेकामा नेतृत्व हस्तान्तरण प्रक्रियामा सहमतिको कुनै सम्भावना रहेन। यस सौहार्द ताको समाप्ति भयो। सुशील कोइराला, यसपछि शेरबहादुर देउवाको सभापतित्वमा आरोहण पूर्णतः सशक्त गुटबन्दीको परिणाम थियो। अनि, यौटा सानो गुट तथा देउवाको विपुल साधन एवं स्रोतका बलमा चरण चाटुकार हरूको नेपाली काँग्रेसमा हालिमुहालीको यात्रा आरम्भ भयो। यस उप्रान्त नेका ‘कायाहीन’ सत्ता लोलुपहरूको हातमा गयो। यस बारे धेरै उदाहरण तथा दृष्टान्तहरू दिनु आवश्यक छैन।

यस उप्रान्त का फोहोरी खेलहरूको चर्चाले यो सानो लेख पनि फोहरी हुन जान्छ। यस अवस्थामा नेपाली काँग्रेसको प्रवेशको परिणाम नै आजको वर्तमानको हविगत हो। दुःख त यस दुरावस्था प्रति छ कि शेरबहादुरले नेकालाई यहाँ पुर्याईदिए जहाँबाट शायद देखिएका नेतृत्वहरू कसैले पनि उकास्ने कुरामा विश्वास भइरहेको छैन। म आज यहाँ योगीहरू तथा सिद्धहस्त सन्तहरूको मृत्यु परान्तको एक परम्परा बताउन चाहन्छु। त्यो हो‘।

ठुला र सिद्ध योगीहरूको मृत्यु भएपछि योगीलाई जल समाधि वा पंचतत्वमा विलीन गराइए पछि अन्याय भक्त शिष्यहरूले गुरु योगीको कुटीलाई आगो लगाई भष्म पार्दछन्। यस्तो चलन छ। धेरैले सोच्दा हुन्, किन निरु कुटी किन जलाउने निरु यो परम्परा यस कारणले थालियो, ।

हेर त्यस कुटीमा मृत्युपर्यन्त पनि सिद्ध योगीको आत्माको बास रहेको हुन्छ। तसर्थ, नयाँ योगीले कुटी डढाउने गर्छन्। पूर्ववर्ती प्रताप योगीको प्रभावबाट मुक्त हुन्। स्वच्छन्द हुनका लागि। नेपाली काँग्रेस अब पनि शेरबहादुर कै नेतृत्वमा स्वच्छन्द छ, पूर्ववर्ती सबै पराक्रमीहरूको सार्थक प्रभावबाट मुक्त हुनका लागि।

प्रतिक्रिया