स्याउ उत्पादक किसानलाई सडक बाधक

नेपालखोज २०८२ असोज ६ गते १३:५७

काँक्रेविहार (सुर्खेत)ल । कर्णालीका हिमाली जिल्लामा स्याउ पर्याप्त मात्रामा उत्पादन हुन्छ । तर उत्पादन भए पनि बिक्री गर्न भने उनीहरुलाई हम्मेहम्मे पर्छ । स्याउ बजारमा पुर्याउन सडक बाधक बन्दै आएको छ । कर्णाली करिडोर बर्सेनि बर्खा लागेपछि अवरुद्ध हुने गरेकाले यहाँका किसानलाई स्याउ बजारमा पुर्याउन समस्या हुने गरेको छ । त्यसैले किसानले उत्पादन गरेको स्याउ बारीमै थन्किने गरेको छ ।

सडक अवरुद्ध हुँदा सबैभन्दा बढी जुम्ला, मुगु र हुम्लाका किसानलाई घाटा हुन्छ । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा ह्रास आएको छ । यस वर्ष असिना–पानी र खडेरीका कारण उत्पादनमा कमी आएको हो । कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार स्याउको गुणस्तर र गुलियोपन जाँचेर मात्र बजारमा बिक्रीका लागि पठाउने गरिएको छ ।

स्याउ उत्पादन, निर्यात र आम्दानीको तथ्याङ्क सङ्कलन गर्न थालेका छौँ, उनले भने । व्यापारीले बगैँचामै पुगेर स्याउ खरिद गर्न थालेका उनले बताए । किसानले बगैँचाबाटै प्रतिकिलो रु ७० मा स्याउ बिक्री गरिरहेका छन् । विगतमा कृषि विकास कार्यालयले स्याउको मूल्य तोक्ने गरेको भए पनि यसपालि किसान आफैँले मूल्य तोकेर बेच्दैछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको स्याउ सुपरजोनले किसानलाई ११ हजार कार्टुन बाँडेको छ । त्यही कार्टुनमा किसनले स्याउ बिक्री गरिरहेका छन् । सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौँलगायत सहरमा जुम्लाको स्याउ बिक्री गर्ने गरिएको छ । जुम्लामा चार हजार ४०० हेक्टरमा स्याउखेती गरेपनि यसपालि दुई हजार ९०० हेक्टरमा मात्र फल लागेको कार्यालय प्रमुख अधिकारीले बताए ।

स्याउले किसानको जीवनशैली बदलेको छ, तर ढुवानी गर्न सहज छैन, उनले भने । जुम्लामा रेड, रोयल, जोनाथन, गोल्डेन, गाला, फुजी र जोनाप्रिन्स जातको स्याउखेती गरिएको छ । गत भदौ पहिलो सातादेखि त्यहाँ स्याउ टिप्न थालिएको हो । कर्णाली करिडोरको कालिकोट खण्डमा सबैभन्दा बढी सडक अवरुद्ध हुने गरेको छ । स्याउ बोकेका सवारीसाधन हप्तौँ कर्णाली करिडोरमै थन्किने गरेको छन् । यस्तै डोल्पामा उत्पादन हुने स्याउ भेरी करिडोरमा पुल नभएका कारण बिक्री गर्न समस्या भएको किसानले बताएका छन् ।

प्रतिक्रिया