सम्बन्ध विच्छेदः परम्परागत नेपाली समाजमा बढ्दो चुनौती

नेपालखोज २०८२ असोज ६ गते १४:१५

भद्रपुर (झापा) । झापाको कचनकबलका सुमन २०७० सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गए । श्रीमती र दुईजना छोरी बाबुआमासँगै छाडेर गएका सुमन आठ वर्ष उतै बसे । यो बीचमा घरमा निरन्तर श्रीमती र छोरीहरुसँग कुराकानी भइरहन्थ्यो । घरमा बाबुआमासँग कुरा नमिलेपछि श्रीमान् मलेसिया गएको एक वर्षपछि नै श्रीमती छोरीहरु लिएर माइतीघरमा बस्दै आएकी थिइन् ।

माइतीघरमा बसे पनि सुमनसँग निरन्तर कुरा भइरहने र उनले पनि मलेसियाबाट नियमित खर्च पठाइरहेका थिए । मलेसिया गएको आठ वर्षपछि जब सुमन नेपाल फर्किन लागे काठमाडौं विमानस्थल पुग्नेबेलासम्म उनको श्रीमतीसँग सम्पर्क भइरहेको थियो । तर काठमाडौंबाट झापा पुगेपछि मोबाइलमा सम्पर्क गर्दा श्रीमतीको मोबाइलको स्वीच अफ देखायो, सम्पर्क नै हुन सकेन । सुमन आफ्नो घर पुगेपछि श्रीमतीको आमासँग सम्पर्क गर्दा मेरो छोरी तपाईंसँग बस्दैन सम्बन्घबिच्छेद गर्नुपर्यो भन्ने शब्द सासुआमाको मुखबाट सुन्नुपर्दा सुमनलाई आधा ज्यानै खोसिए जस्तो भयो । आठ वर्षसम्म विदेशमा हुँदा नियमित सम्पर्क भइरहेको श्रीमतीले एक्कासी सम्बन्धबिच्छेदका लागि तयार भएपछि १३ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्नुपर्ने अवस्था आयो ।

झापाको मेचीनगरकी सरिता र राकेशले अन्तरजातीय प्रेम विवाह गरे । दुवैका परिवारले उनीहरुको प्रेम विवाहलाई स्वीकार नगरेपछि भागेर मन्दिरमा गई विवाह गरेका थिए । विवाहपछि ज्याला मजदुरी गर्दै बजारमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरुको विवाहको दुई वर्षपछि छोराको जन्म भयो । छोरा जन्मिएपछि राकेशको परिवारले सबैलाई घरमै बोलायो ।

घरमा बोलाएको एक महिनापछि नै सरिताले विभिन्न किसमका यातनाको सामना गर्नुपर्यो । घरको सबै काम गरे पनि केही गर्दैन, राम्रोसँग काम गर्न नि आउँदैन, कसकी छोरी, केही पनि नसिकाएका लगायतका मानसिक तनाव राकेशको परिवारले दिन थाल्यो । माया गरेर प्रेम गरेका राकेशको पनि विस्तारै व्यवहारमा परिवर्तन आउन थाल्यो । घरपरिवारको उक्साहटमा राकेशले पनि जाँडरक्सी खाएर आउने गालीगलौज गर्ने, हातपात गर्ने, खान लाउन नदिने, चरम यातना दिनेलगायतका कार्य गर्न थाल्यो ।

राकेश र उनको घरको यातना चरम विन्दुमा पुगेपछि सहन नसकेर सरिताले आफन्तको सहयोगमा सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरिन । अदालतले मुद्दा मिलापत्रको लागि दुवैलाई मेलमिलापकर्ता कहाँ पठायो । त्यहाँ मिल्ने सहमति गरेर आउने घरमा पुगेको २÷३ दिनपछि पुरानै व्यवहार देखाउन थालेपछि अन्तिममा सरिताले अंशसहित सम्बन्धबिच्छेदका लागि अपिल गरिन ।

यी मात्र दुई उदाहरण मात्र हुन् । यस्तै कैयौं घटनाहरू अहिले देशका हरेक शहर र गाउँमा दोहोरिइरहेका छन् । नेपालजस्तो पारिवारिक सम्बन्धलाई अगाडि राख्ने परम्परागत समाजमा विवाहलाई ‘अटुट बन्धन’ र ‘पवित्र सम्बन्ध’को रूपमा लिइन्छ । तर पछिल्ला केही वर्षयता यो परम्परागत सोचमा ठूलो परिवर्तन आएको छ । विवाह टिकाउन नसक्ने र एकअर्कासँग जीवन बिताउन नसक्ने अवस्थामा सम्बन्धविच्छेद गर्न तयार रहेका पति–पत्नीबीचको संख्या तीव्ररूपमा बढिरहेको छ । एक दशकअघि फाटफुट मात्रै अर्थात दुर्लभ घटना मानिने सम्बन्धविच्छेद अहिले दैनिक समाचारमा सुन्न, पढ्न र देख्न सकिन्छ ।

यस प्रवृत्तिले हाम्रो समाजमा नयाँ खालका सामाजिक, मनोवैज्ञानिक, कानुनी र आर्थिक समस्या जन्माइरहेको छ । सर्वोच्च अदालतको आर्थिाक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार अदालतहरुमा सबैभन्दा बढी मुद्दा परेको विषय सम्बन्धबिच्छेद रहेको थियो । उक्त आर्थिक वर्षमा ४० हजार तीन सय २० जनाले वैवाहिक सम्बन्ध अन्त्यका लागि मुद्दा दायर गरेका थिए । यस तथ्याङ्कलाई हेर्दा नेपालमा औसतमा दैनिक एक सय १० जना भन्दा बढीले सम्बन्घविच्छेदका लागि अदालतहरुमा निवेदन दिने गरेका छन ।

झापा जिल्ला अदालतको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार तीन सय ४३ जनाले सम्बन्घविच्छेदका लागि मुद्दा दायर गरेका थिए । उक्त तथ्याङ्कअनुसार औसतमा झापा जिल्लामा दैनिक चार जनाले वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको देखिन्छ । पछिल्लो समय झापा जिल्ला सबैभन्दा बढी सम्बन्धविच्छेद हुने प्रमुख जिल्लाहरुको सूचीमा पर्दै आएको छ ।

वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग र प्रविधिको अनियन्त्रित प्रयोग सम्बन्धविच्छेदका प्रमुख कारण भएको सामाजिक अभियन्ता दयानन्द गोश्वामी बताउनुहुन्छ । श्रीमान वा श्रीमती विदेशमा लामो समय अलग बस्दा पारिवारिक सम्बन्ध कमजोर हुन्छ । सामाजिक सञ्जालमार्फत नयाँ सम्बन्ध सुरु गर्ने, अर्काे साथी भेट्ने वा अनलाइनमा बढ्दो आकर्षणले पनि विवाहमा खलल पुर्याइरहेको छ । विशेषगरी ग्रामीण क्षेत्रमा सम्बन्धविच्छेदपछि महिलामाथि अझै दोष थुपारिन्छ । पुनःविवाह गर्न कठिनाइ हुने, परिवार र समाजमै स्वीकार्यता पाउन गाहे हुने अवस्था सिर्जना हुन्छ । खस क्षेत्री समाजका अध्यक्ष खड्कबहादुर खड्का भने, नेपालजस्तो परम्परागत समाजमा सम्बन्धविच्छेद केवल व्यक्तिगत होइन, सामूहिक कलङ्कको रूपमा हेरिन्छ ।

अधिवक्ता नरेश खाती भने, मुलुकी देवानी संहिता २०७४ ले दुवै पक्षलाई सम्बन्धविच्छेद गर्ने समान अधिकार दिएको छ, तर व्यवहारमा यो सजिलो छैन । कानुनी प्रक्रिया लामो, खर्चिलो र सामाजिक रूपमा अझै नकारात्मक दृष्टिले हेर्ने मानसिकता बलियो छ । यसैले पीडितहरू अदालतसम्म पुग्न हिच्किचाउँछन् । विदेश अध्ययन वा डिपेन्डेन्ट भिसामा विवाह गरेर जाने, अनि त्यहाँ पुगेपछि सम्बन्धविच्छेद गर्ने घटनाहरू पनि बढेको अधिवक्ता खातीको भनाइ छ । पछिल्लो समय ४० वर्ष माथिका व्यक्तिहरूमा सम्बन्धविच्छेद बढी देखिनु अर्को रोचक तथ्य हो ।

सम्बन्धविच्छेदपछि दुवै पक्षलाई मानसिक आघात हुन्छ । तर सबैभन्दा बढी असर सन्तानमा देखिन्छ । उनीहरू असुरक्षित, आत्मविश्वासहीन र कहिलेकाहीँ आक्रामक बन्न सक्छन् । त्यसैले सम्बन्धविच्छेदलाई केबल कानुनी प्रक्रिया नभई मनोवैज्ञानिक उपचारसँग पनि जोड्नुपर्ने भद्रपुर नगरपालिकाका नगर उपप्रमुख राधा कार्की बताए । सम्बन्धबिच्छेद व्यक्तिगत स्वतन्त्रताको विषय भए पनि अधिकांश अवस्थामा यसले स्वतन्त्रताको सीमा नाघेको उनको भनाइ छ । प्रायः सम्बन्धबिच्छेद भएका सन्ततिहरुमा एक्लोपना हुने र विस्तारै लागुऔषधको कुलतमा फस्दै गएको अवस्था छ । आर्थिक लाभ प्राप्त गर्न, संयुक्त परिवारमा बस्न नसक्नुलगायतका कारणले हुने सम्बन्धबिच्छेद समाजका लागि हानीकारक हुने गरेको उपप्रमुख कार्की बताए ।

हाम्रै घर समाजबाट वैदशिक रोजगारीमा राम्रो कमाई हुने देशमा गएका महिलाहरुले राम्रो आयआर्जन गरेपछि सम्बन्धबिच्छेद गर्ने गरेको पत्रकार नेत्र बिमली बताए । अभिभावकले आफ्ना छोरा छोरीलाई राम्रो सल्लाह नदिँदा समेत केही सम्बन्धबिच्छेदका घट्नाहरु बढ्दै गएको उनको भनाइ छ ।

सम्बन्धविच्छेदले हाम्रो समाजमा बहुआयामिक असर पुर्याइरहेको समाजिक अभियन्ता गोश्वामी बताउनुहुन्छ । यसले सबैभन्दा पहिले बालबालिकामाथि प्रत्यक्ष प्रभाव पार्छ । आमा–बुबा अलग भएपछि बालबालिकामा आत्मविश्वासको कमी देखा पर्ने, पढाइमा असर पर्ने र समाजसँग सहज रूपमा घुलमिल गर्न कठिनाइ हुने अवस्था सिर्जना हुन्छ । कतिपय अवस्थामा उनीहरूमा अपराध प्रवृत्ति वा गहिरो मानसिक समस्या समेत विकास हुने गरेको पाइन्छ । त्यस्तै, सम्बन्धविच्छेदपछि महिलामाथि समाजले अझै पनि ठूलो दबाब दिने गर्दछ । विशेषगरी ग्रामीण क्षेत्रमा त सम्बन्धविच्छेद भएकी महिलालाई दोषी ठहरिने प्रचलन अझै कायम छ । यसका कारण उनीहरूले पुनःविवाह गर्न गाह्रो हुने मात्र होइन, आफ्नै परिवार र समाजभित्र पनि स्वीकार्यता पाउन कठिनाइ भोग्नु परेको उनले बताए ।

पत्रकार देवेन्द्र किशोर ढुंगाना संयुक्त परिवार विगठन हुनुले सम्बन्धविच्छेदको चलन बढ्न थालेको बताए । ढुङ्गाना भने, हाम्रो परिवारसँगको माया टुटेको छ, तर एउटा कुकुरलाई माया गरिरहेका छौँ । पत्रकारिताले यस्ता कुरालाई जिम्मेवारीपूर्वक उठाउनुपर्छ । धेरै मात्रामा सम्बन्धविच्छेद समस्या हो भने कम मात्रामा समाधान पनि हो । सम्बन्धविच्छेदलाई दुई पक्षबाट हेर्ने सकिन्छ । एउटा पक्षका लागि यो गहिरो समस्या हो, जसले परिवारलाई टुक्र्याउँछ, बालबालिकाको भविष्यमा अन्धकार ल्याउँछ, महिलामाथि सामाजिक कलङ्क थप्छ र सामाजिक संरचना नै कमजोर बनाउँछ । अर्काेतर्फ, धेरै पीडितका लागि सम्बन्धविच्छेद नै मुक्तिको उपाय र समाधान हो—दैनिक हिंसा, यातना र असमान सम्बन्धबाट बाहिर निस्कने वैधानिक बाटो हो ।

यसरी सम्बन्धविच्छेदलाई केवल नकारात्मक रूपमा समस्या भनेर मात्र व्याख्या गर्न सकिँदैन । यदि वैवाहिक सम्बन्ध अस्वस्थ, असमान र हिंसात्मक छ भने त्यस्तो सम्बन्धलाई जबर्जस्ती टिकाइराख्नु नै अझ ठूलो समस्या हो । तर, स्वस्थ सम्बन्धलाई असावधानी, आवेग वा प्रविधिको गलत प्रयोगका कारण टुटाउनु भने समाजकै लागि गम्भीर चुनौती हो ।

त्यसैले सम्बन्धविच्छेदलाई समस्या पनि हो, समाधान पनि भन्ने बुझाइ आवश्यक छ । यसको सकारात्मक वा नकारात्मक असर परिस्थिति, कारण र परिणाममा निर्भर हुन्छ । दीर्घकालीन रूपमा, समाजले यसलाई समस्या–केन्द्रित दृष्टिभन्दा बढी समाधानमुखी व्यवहारमा रूपान्तरण गर्नुपर्छ, जहाँ सम्बन्धविच्छेद पछि पनि व्यक्तिको अधिकार, गरिमा र बालबालिकाको भविष्य सुरक्षित हुने वातावरण निर्माण होस् ।

प्रतिक्रिया