बिहीबार, पुष १०, २०८२

जापानमा एलडिपी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु

नेपालखोज २०८२ असोज ६ गते १५:५६

टोकियो । निवर्तमान प्रधानमन्त्री सिगेरु इसिबाको उत्तराधिकारी छान्न सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार आधिकारिक अभियान सुरु गरेको छ । यो प्रतिस्पर्धा राजनीतिक स्थिरता कायम गर्ने र सङ्कटग्रस्त पार्टीलाई पुनः जनसमर्थन दिलाउने लक्ष्यसँग जोडिएको छ ।

अक्टोबरको सुरुआतमा हुने मतदानअघि एलडिपी नेतृत्वका लागि पाँच जना उम्मेदवार मैदानमा छन् । ‘परिवर्तन, एलडिपी’ भन्ने नारा सहित सुरु भएको यो दौड पार्टीको भविष्यका लागि महत्त्वपूर्ण मानिएको छ । गत वर्ष एलडिपी र यसको कनिष्ठ साझेदार कोमेइटो दुवैले ठूलो घाटा बेहोरेपछि अब नयाँ नेताले बढ्दो महँगीलाई सम्बोधन गर्नुका साथै संसद्मा बहुमत गुमाएको स्थितिबाट पार्टीलाई उकास्नु पर्नेछ ।

एलडिपी अझै पनि संसद्को सबैभन्दा ठूलो दल भएकाले नयाँ नेता प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ । तर नयाँ प्रधानमन्त्रीले विपक्षी दलहरूसँग सहकार्य नगरे अविश्वास प्रस्ताव र छोटो अवधिका सरकारहरूको जोखिम सामना गर्नुपर्ने चेतावनी विश्लेषकहरूले दिएका छन् । अक्टोबर ४ मा हुने मतदान सर्वसाधारणका लागि खुला छैन । यसमा दुई सय ९५ एलडिपी सांसद र करिब १० लाख भुक्तानी सदस्य मात्र सहभागी हुनेछन् ।

यो जापानको कुल मतदाताको एक प्रतिशतभन्दा कम हो । यदि पहिलो चरणमा कसैले बहुमत पाएन भने शीर्ष दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ । नयाँ नेताले प्रधानमन्त्री बन्न संसदीय मतदानमा केही विपक्षी सांसदहरूको समर्थन पनि जुटाउनुपर्नेछ । प्रतिस्पर्धामा रहेका पाँचै उम्मेदवार पूर्व वा हालका मन्त्री हुन् । उनीहरूले आफूलाई मध्यम रूढीवादी भन्दै विपक्षीसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिएका छन् ।

सोमबारको संयुक्त कार्यक्रमले अर्थतन्त्र र आप्रवासन नीतिमा कडा उपायहरूलाई प्राथमिकतामा राखेको छ । कृषिमन्त्री शिन्जिरो कोइजुमी र पूर्व आर्थिक सुरक्षामन्त्री साना ताकाइचीलाई प्रमुख दावेदार मानिएको छ । चवालिस वर्षका शिन्जिरो कोइजुमी लोकप्रिय पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा छन् । उनले गत वर्ष इसिबासँग प्रतिस्पर्धा गरेका थिए र यसपटक दोस्रो प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया