झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी

भद्रपुर (झापा) । बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनी आत्मविश्वासले भरिपूर्ण अनुहार । आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागा, काट्न प्रयोग गरिने कैची र सिलाइ मेसिनको निरन्तर आवाजले उद्योगको जीवन्तता झल्काउँछ । यही ठाउँ हो– शीतला झोला उद्योग, जसको नाम अहिले बुद्धशान्तिमात्र होइन, कोशी प्रदेशका विभिन्न जिल्लासम्म परिचित भइसकेको छ ।
यस उद्योगकी सञ्चालक हुन् तारादेवी अधिकारी । उनी सामान्य गृहिणीमात्र नभएर, सङ्घर्ष र सीपलाई आधार बनाउँदै आत्मनिर्भर बन्न खोज्ने अनि अरु महिलालाई पनि त्यसै मार्गमा डोहोर्याउने उद्यमी हुन् । आजभन्दा करिब १२ वर्षअघि तारादेवीले घरेलु तथा साना उद्योगको समन्वयमा सिलाइकटाइ तालिम लिएका थिए । तालिमपश्चात आफ्नै मेसिन नभएकाले उनले केही वर्ष मेसिन भाडामा लिएर कपडा सिलाउने काम गरे ।
त्यही क्रममा एक दिन उनले उत्सुकतावश सिलाइको कपडाबाट बाँकी रहेको कपडाबाट तीनवटा सामान्य सुर्की झोला बनाएर आफ्नै पसलमा राखे । ती झोला तुरुन्तै बिक्री भए । निरन्तर एक सातासम्म तारादेवीले दिनमा तीन–चारवटा झोला बनाएर पसलमा राख्दा पनि माग बढ्दै गयो । यही सफलताले उनीलाई झोला उत्पादनलाई उद्यमका रूपमा अगाडि बढाउने प्रेरणा दिएको तारादेवी स्मरण गरे ।
त्यसपछि २०७६ सालदेखि स्थानीयमा उपलब्ध हुने कच्चा पदार्थ ढाका, अल्लोलगायतबाट झोला बनाउन तारादेवीले उद्योग खोले । हाल उनले सञ्चालन गर्दै आएको उद्योगबाट विभिन्न आकार, प्रकार र डिजाइनका झोला उत्पादन हुने गरेका छन् । मूल्य दायरा रु ५० देखि तीन हजार ५०० सम्मको छ । सस्तो मूल्यका झोलादेखि उच्च गुणस्तरका डिजाइनर झोलासम्म यहाँ उपलब्ध हुन्छन् । झोलाका लागि चाहिने कच्चा पदार्थ काठमाडौं, भारतको सिलुगुडीबाट आउने गरेको तारादेवी बताए ।
उद्योगमा अहिले १८ महिलाले नियमित रोजगार पाउनुभएको छ भने थप १५ जना आंशिक रूपमा संलग्न हुन् । उनीहरू आ–आफ्नो घरधन्दा सकेर दिउँसो केही घण्टा उद्योगमा काम गर्न आए । दक्षताका आधारमा महिलाले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म कमाइ गर्ने गरेका छन् । यसरी घरपरिवार चलाउनेमात्र होइन, आफ्नै श्रमबाट आर्थिक रूपमा सशक्त बन्न पाउँदा उहाँहरूले गर्व र खुसी अनुभव गर्ने गरेको तारादेवी बताए ।
शीतला झोला उद्योगको उत्पादन अहिले झापा जिल्लामै सीमित छैन । कोशी प्रदेशका अधिकांश पहाडी जिल्लामा मात्र होइन, सुदूरपश्चिमको कञ्चनपुरसम्म झोलाको माग पुग्छ । भीमदत्त नगरपालिकाबाट नगरसभाका सदस्यहरूलाई वितरण गर्नका लागि गत असारमा मात्र एक सय १० झोलाको माग आएको थियो, जुन तारादेवीले चार दिनभित्र तयार गरेर पठाए । कोभिड–१९ का कारण देशभर बन्दाबन्दी भयो त्यही समयमा आफ्नो झोला उद्योगले राम्रो बजार पाएको तारादेवी बताए ।
यसका अतिरिक्त उद्योगका झोला बुद्धशान्ति गाउँपालिकाले आफ्ना सामुदायिक विद्यालयका विद्यार्थीलाई वितरण गरेको छ । त्यसबाहेक सङ्खुवासभाको खाँदबारी, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायत जिल्लामा पनि झोला पुग्ने गरेको छ । झोला उत्पादनमात्र नभई तारादेवी तालिम दिने काममा पनि सक्रिय हुन् । स्थानीय तह, सामुदायिक संस्थाले माग गरेअनुसार उनले महिलालाई झोला सिलाइ तालिम दिए । यसरी तालिम पाएका महिलाले पनि आफ्नै क्षेत्रमा सानो स्तरमा भए पनि झोला उत्पादन सुरु गर्ने अवसर पाएका छन्








प्रतिक्रिया