लुटिएकामध्ये ७५ थान हतियार फिर्ता

नेपालखोज २०८२ असोज ७ गते १०:५८

जेनजी प्रदर्शनका क्रममा जिल्लाको दुईवटा इलाका प्रहरी कार्यालयबाट लुटिएका ७५ थान हतियार फिर्ता भएको प्रहरीले जनाएको छ । गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक र अनारमनी (विर्तामोड) बाट ९९ थान हतियार लुटिएका थिए । अब २४ थान हतियार फिर्ता हुन बाँकी छ । विर्तामोड नगरपालिका क्षेत्रबाट ४० थान र दमक नगरपालिका क्षेत्रबाट ३५ थान हतियार फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

दमक र झिलझिले इलाकाबाट चार थान एसएलआर, १० थान इन्सास राइफल, १२ थान थ्रीनटथ्री राइफल, तीन थान सट गन, दुई थान ग्यास गन, तीन थान चाइनिज रिभल्भर र एक थान नाइन एमएम रिभल्भर आन्दोलनकारीले फिर्ता गरेका हुन् । त्यसैगरी, विर्तामोड, दुर्गापुर र शनिश्चरे इलाकाबाट सात थान एसएलआर, १६ थान इन्सास राइफल, छ थान थ्रीनटथ्री राइफल, दुई थान सट गन, चार थान ग्यास गन, तीन थान एसएमजी र दुई थान रिभल्भर आन्दोलनकारीले फिर्ता दिएको उनले जानकारी दिए ।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते अनारमनी र दमक इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । त्यही क्रममा प्रहरीसँग भएका हतियार लुटिएका थिए । अनारमनी इप्रका (विर्तामोड)बाट लुटिएका अधिकांश हतियार आन्दोलनकारीले तत्कालै मानवअधिकारवादीको रोहवरमा नेपाली सेनाको अरिदमन गण चारआलीको टोलीलाई फिर्ता गरेका थिए । विर्तामोडबाट लुटिएका हतियारमध्ये अब दुई थानमात्र फिर्ता हुन बाँकी छ । तर दमकका धेरै हतियार फिर्ता हुनसकेको छैन ।

लुटिएका हतियार फिर्ता गर्न सार्वजनिक अपिल गरेका छौँ सूचना अधिकारी खड्काले भने, अटेर गरेर नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुन्छ ।

प्रतिक्रिया