पत्रकारको पेसागत र भौतिक सुरक्षाप्रति गम्भीर छु : सञ्चारमन्त्री खरेल

नेपालखोज २०८२ असोज ७ गते १८:०३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाका सम्बन्धमा राज्यका सम्बन्धित निकायसँग छलफल गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आज आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री खरेलले पत्रकारहरूको सुरक्षा व्यवस्थाका विषयमा गृहमन्त्रीलगायत सम्बन्धित निकायसँग छलफल गर्ने बताए ।

उनले गत चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सुरेश रजकको निधन भएको घटनाबारे छानबिन वा उचित न्यायका लागि पहल गर्ने बताए । रजकसँगै विभिन्न आन्दोलन एवं प्रदर्शनका क्रममा मृत्यु वा घाइते भएका पत्रकारका विषयमा समेत छानबिन गर्ने उनको भनाइ थियो ।

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका क्यामरापर्शन रजकलाई मरणोपरान्त प्रदान गरेको छ । मन्त्री खरेलले यस पुरस्कारले रजकसँगै स्व पत्रकारहरू हेम–सुनिलप्रति श्रद्धाञ्जली अर्पण गरे ।

सो समारोहमा मन्त्रालयका सचिव राधिका अर्यालले स्व पत्रकार रजकको परिवारको मागअनुसार न्यायका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । स्व पत्रकार रजकको परिवारले उक्त घटनाको दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका थिए।

सार्वजनिक प्रशारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्टले सार्वजनिक सेवा रूपान्तरणको क्रममा रहेको उल्लेख गर्दै यस सेवालाई सही तवरले परिभाषित गर्नुपर्नेमा जोड दिए । त्यसका लागि आवश्यक आधार तयार गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले पिएसबीको मर्मअनुसार पूर्ण सञ्चालन र बजेटको सुनिश्चितताको माग गरे । उनले बजेट सुनिश्चित नहुँदा नेपाल टेलिभिजनका पाँच वटै च्यानलको सञ्चालनमा कठिनाइ देखिएकातर्फ ध्यानार्कषण गराए ।

नेपाल टेलिभिजनका पत्रकारद्वय हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा स्थापित एक लाख राशिको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार २०६४ सालदेखि साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई प्रदान गरिँदै आएको छ । पुरस्कार हरेक वर्ष असोज ७ गते विशेष कार्यक्रमबीच प्रदान गरिँदै आएको छ ।

विसं २०६३ असोज ७ गते समाचार सङ्कलनका क्रममा ताप्लेजुङको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष महासङ्घ टेलिभिजन प्रतिष्ठान शाखाले पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया