सात प्रदेश, नौ भाषाका १४ स्रष्टालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
यस क्रममा वनस्पति शास्त्री वैज्ञानिक स्रष्टा डा. तीर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, झर्रोवादी आन्दोलनका हस्ती प्रा.चूडामणि रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, भोजपुरी भाषाका अग्रणी स्रष्टा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, संस्कृत वङ्गमयका अग्रणी स्रष्टा प्रा.डा.गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, लक्ष्मी मालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान र अग्रणी कथाकार भागीरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसै गरी मगर भाषाका अग्रणी स्रष्टा रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात, मैथिली भाषाकी अग्रणी स्रष्टा करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात, किराँती–रोदुङ मातृभाषा अग्रणी स्रष्टा वाग्देवी यालुङ्छा राईलाई जोगमाया बराल स्रष्टा सौगात, सामाजिक न्यायका लागि अभियानरत स्रष्टा पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, थारु भाषाकी अग्रणी महिला स्रष्टा शर्मिला कुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, कर्णालीको उत्थानका लागि सक्रिय स्रष्टा माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, तमु साहित्यको प्रवर्द्धनका लागि क्रियाशील स्रष्टा गौरी तमुलाई जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेपाल भाषा (नेवारी), संस्कृत, मैथिली, भोजपुरी, थारु, राई, मगर र गुरुङ गरी ९ भाषामा विशेष योगदान गरेका छन् भने अङ्ग्रेजी भाषामा समेत उनीहरूका कृति प्रकाशित छन् ।
२०८२ असोज ९ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरूमध्येबाट सो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरी २० हजार पुरस्कार राशिसहित पुरस्कृत स्रष्टाहरूलाई सम्मान गरिने छ ।
पुरस्कृत स्रष्टाहरुबारेः
१. डा. तीर्थबहादुर श्रेष्ठ (वैज्ञानिक स्रष्टा) : वि.स १९९४ असोजमा काठमाडौंको महाबौद्धमा जन्मनुभएका स्रष्टा डा. तीर्थबहादुर श्रेष्ठ वनस्पति शास्त्री वैज्ञानिक हुनुहुन्छ । वैज्ञानिक स्रष्टा श्रेष्ठका जलवायु परिवर्तन: बुझौँ र बुझाऔँ, नेपाल नखुलेका पाटाहरू, नेपाल अध्ययन (भाग १) भू स्वरूप र हावापानी, नेपाल अध्ययन (भाग २) वन वनस्पति र प्राणी, नेपाल अध्ययन (भाग ३) समाज संस्कृति र प्राकृति, नेपालको जैविक भूगोलको पुनरावलोकन लगायत दर्जन बढी पुस्तक प्रकाशित छन् । यसै गरी उनका माउन्टेन टुरिजम एण्ड इनभारामेन्ट इन नेपाल, नेपाल कन्ट्रि रिपोट अन वायोलोजिक डाइभरसिटि, फरेष्ट एण्ड भेजिटेसन अफ नेपाल, हिमालयन फलावर्स एण्ड ट्रिज (सह लेखन) लगायत पुस्तकहरू अङ्ग्रेजीमा प्रकाशित छन् । डा. श्रेष्ठको स्थलगत अध्ययन अनुसन्धानमा आधारित कृति डेभलपमेन्ट इकोलोजी अफ द अरुण वेसिन इन नेपाललाई मकालु वरुण राष्ट्रिय निकुञ्ज स्थापनाको प्रस्तावना मानिन्छ । कर्णाली क्षेत्रको पारिस्थितिक प्रणालीको स्थलगत र सैद्धान्तिक अध्ययन पश्चात् उहाँले तयार पारेको पर्यावरणीय नक्सा इकोलोजी एण्ड भेजिटेसन अफ नर्थ वेस्ट नेपाल (कर्णाली रिजन) शीर्षकमा २०३९ सालमा प्रज्ञा प्रतिष्ठानबाट पुस्तकाकारमा प्रकाशित छ ।
२. दुर्गालाल श्रेष्ठ (जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा): सन् १९३५ को जुलाईमा काठमाडौंमा जन्मिएका विख्यात स्रष्टा दुर्गालाल श्रेष्ठ जनकविको उपाधिबाट समेत सम्मानित हुनुहुन्छ । सात दशकदेखि साहित्यमा अनवरत योगदान गर्नुभएका स्रष्टा दुर्गालाल श्रेष्ठका नेपाली र नेपाल भाषा (नेवारी)मा गीत, गीति नाटक, खण्डकाव्य, कविता र बाल साहित्यमा गरी दर्जनौँ कृतिहरू प्रकाशित छन् । झसुका, लिसं, सन्तयाकुशा, सर्ग, पिजा, याकः फल्चा, इन्कलावया पलाःसः आदी गरी नेपाल भाषामा मात्रै उहाँका दर्जन बढी पुस्तकहरू प्रकाशित छन् । यसै गरी नेपालीमा इन्कलावको पदचाप, इच्छाको सिमाना, सन्तको छाता, दुर्गालाल श्रेष्ठका कविताहरू समेत गरी दर्जन बढी कविता खण्डकाव्य र गीति नाटकहरू प्रकाशित छन् ।
३. प्रा.चूडामणि रेग्मी (झर्रोवादी आन्दोलनका हस्ती) : वि.स. १९९३ चैत्र २९ गते सङ्खुवासभाको वानामा जन्मनुभएका स्रष्टा चूडामणि रेग्मीका काव्य, कथा, निबन्ध, हास्यव्यङ्ग्य, भाषा व्याकरण र समालोचना गरी दुई दर्जन बढी कृतिहरू प्रकाशित छन् । नेपाली भाषा साहित्यका अथक साधक पूर्वका मोतीराम उपनामले समेत प्रसिद्ध स्रष्टा रेग्मी झर्रोवादी आन्दोलनका हस्ती हुनुहुन्छ । पहिलो यात्रा, भुमरी, चावी नामक कथा सङ्ग्रह, भावना र यक्षको पोखरा प्रवास कविता सङ्ग्रह र २२ समालोचना, समालोचनाको बटुलो नामक समालोचनात्मक कृतिहरू प्रकाशित छन् । वि.सं. २०१३ सालमा बनारसबाट बाराणसेय संस्कृत छात्र परिषद्को मुख पत्र छात्र दूतको सम्पादन गर्नुभएका स्रष्टा रेग्मीले झन्डै सात दशक लामो साहित्य यात्रामा दर्जन बढी मुख पत्रको प्रकाशन गर्नुभएको छ त्यसमध्ये जुही प्रकाशनकै ६२ वटा पुस्तकहरू छन् ।
४.डा. गोपाल ठाकुर (भोजपुरी भाषाका अग्रणी स्रष्टा): २०१८ साल पुस २७ गते जन्मनुभएका बारा जिल्ला सिम्रौनगढ निवासी स्रष्टा डा.गोपाल ठाकुरका भोजपुरीमा दर्जन बढी कृतिहरू प्रकाशित छन् । स्रष्टा ठाकुर जीवन्त भोजपुरी मजबुन, उत्पीडित मधेस आ भोजपुरी र सहज भोजपुरी वर्तनीको अनुसन्धाता तथा लेखक हुनुहुन्छ । यसै गरी अङ्ग्रेजीमा प्रकाशित भोजपुरी व्याकरणको समेत अनुसन्धाता तथा लेखक हुनुहुन्छ । यसै गरी उनको सहलेखनमा भोजपुरीमा विभिन्न कृतिहरू प्रकाशित छन् । २०६२÷६३ को जनआन्दोलनमा नागरिक आन्दोलनमा सक्रिय स्रष्टा ठाकुर नेपाल प्रज्ञा प्रतिष्ठानको तत्वावधानमा नेपालमा भोजपुरी भाषाको समाज भाषा वैज्ञानिक अध्ययनको अनुसन्धाता हुनुहुन्थ्यो । प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा भोजपुरी–भोजपुरी–नेपाली–अङ्ग्रेजी शब्दकोशको सम्पादक मण्डलको संयोजक समेत रहिसक्नुभएका ठाकुर हाल भाषा आयोगका अध्यक्ष हुनुहुन्छ ।
५. प्रा.डा. गुरुप्रसाद सुवेदी (संस्कृत वङ्गमयका अग्रणी स्रष्टा): २०२५ साल असार १५ गते स्याङ्जामा जन्मिएका स्रष्टा प्रा.डा. गुरुप्रसाद सुवेदीले संस्कृतमा झन्डै दर्जन ग्रन्थ-पाठ्य ग्रन्थ लेखेको छन् । त्यसमा साहित्यधर्मदर्शनसम्वद्धाः, सनातनसंस्कृतिसम्वद्धाः व्याकरण महाभाष्यमा, व्याकरण दर्शम्, समासपरिचय आदी छन् । यसै गरी उनले विद्यालय स्तरीय पाठ्यपुस्तकको पनि सह लेखन गरेका छन् भने विभिन्न संस्कृत ग्रन्थहरूको नेपाली अनुवाद गरेका छन् ।
६. लक्ष्मी कुमारी माली (अग्रणी कवि): २०१० साल साउन १० गते काठमाण्डौमा जन्मनुभएकी स्रष्टा लक्ष्मी मालीका आगोका याम, आरुका फुलहरू, तोरी फुलाएको खेत, आमा तिम्रो नाम के हो? गरी ४ वटा कविता सङ्ग्रह प्रकाशित छन् भने आगोको यामको अङ्ग्रेजी अनुवाद सिजन अफ फायर समेत प्रकाशित छ । २०६२-६३ को जनआन्दोलनमा नागरिक आन्दोलनमा सक्रिय स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएकी स्रष्टा मालीले विभिन्न पाठ्यपुस्तकहरूको पेसागत सह लेखन गर्नुका साथै किरात लोक साहित्य भाग १ को सम्पादन समेत गर्नुभएको छ भने स्रष्टा माली नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभाग प्रमुख रहिसक्नुभएको छ ।
७. भागीरथी श्रेष्ठ (अग्रणी कथाकार): २००५ साल भाद्र १७ गते गुल्मीमा जन्मनुभएकी स्रष्टा भागीरथी श्रेष्ठका रातो गुलाब, भूमिगत, विभ्रम, मोहदंस गरी सात वटा कथा सङ्ग्रह र एउटा लघुकथा सङ्ग्रह प्रकाशित छन् । यसै गरी मालती र एउटा यस्तो आकाश गरी दुई उपन्यासहरू प्रकाशित छन् । साठी वर्षदेखि साहित्यमा योगदानरत श्रेष्ठको आफटर द सनसेट नामक कथा सङ्ग्रह अङ्ग्रेजीमा समेत प्रकाशित छ ।
८. रामबहादुर थापा मगर (मगर भाषाको अग्रणी स्रष्टा): २०१६ भाद्र १ गते हालको त्रियुगा नगरपालिका खाँबु उदयपुरमा जन्मनुभएका स्रष्टा रामबहादुर थापा मगरका मगर भाषामा बुढो धरहरा कविता सङ्ग्रह, नानीहरूको कथा कथा सङ्ग्रह, आदिवासी जनजाति व्यक्तित्व गरी तीन वटा पुस्तक प्रकाशित छन् भने मगर संस्कृति सम्बन्धी निबन्ध सङ्ग्रह, सङ्घीय नेपालको तस्बिर लगायत पुस्तक नेपालीमा प्रकाशित छन् । यसै गरी उनीसहितको सह लेखनमा अङ्ग्रेजीमा समेत पुस्तक प्रकाशित छ । संविधानसभा सदस्य र हाल आदिवासी जनजाति आयोगका अध्यक्ष थापा मगरले नेपालका आदिवासी जनजातिहरूको स्थितिबारे अन्तर्राष्ट्रिय सम्मेलनहरूमा प्रस्तुति गर्नुका साथै कानुङलाम नामक मगर भाषाको मासिक पत्रिकाको सम्पादन समेत गरेका थिए ।
९. करुणा झा (मैथिली भाषाकी अग्रणी स्रष्टा): सन् १९७२ मार्च २५ मा जन्मिएकी सप्तरी निवासी करुणा झा का मैथिलीमा भग जोगिनी कविता सङ्ग्रह, जीवनदान लघुकथा सङ्ग्रह, फाटल हृदय गजल सङ्ग्रह, प्रकाशित छन् भने नेपालीमा शंखघोष निबन्ध सङ्ग्रह र हिन्दीमा तीन वटा पुस्तक प्रकाशित छन् । साहित्यमा स्नातकोत्तर गर्नुभएकी स्रष्टा झा अटल मिथिला सम्मान लगायत दर्जन बढी पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।
१०. वाग्देवी यालुङ्छा राई (किराँती–रोदुङ मातृभाषा अग्रणी स्रष्टा) : २०३० साल मङ्सिर ६ गते खोटाङमा जन्मिएकी स्रष्टा राईको साहित्यिक नाम बाग–आयाग्यामी यालुङ्छा हो । अङ्ग्रेजी साहित्य र भाषा विज्ञानमा स्नातकोत्तर राईका किराँती–रोदुङ (चाम्लिङ) भाषामा रतन्धा निहालाम (कविता), येलेखिम ख्वायामापा (नाटक) र हँछामो त्यत्ति (कथा सङ्ग्रह) प्रकाशित छन् । किराँती–रोदुङ मातृभाषा स्रष्टा राई टुवाचुङ वार्षिकको सम्पादक समेत हुन् ।
११. पञ्चकुमारी परियार (सामाजिक न्यायका लागि अभियानरत स्रष्टा)ः २०३४ साल मङ्सिर २५ गते खोटाङको बुइपा दिक्तेलमा जन्मनुभएकी स्रष्टा पञ्चकुमारी परियारका सपना र आँखाहरू र जुठी कविता सङ्ग्रह प्रकाशित छन् । नेपाली साहित्यमा स्नातकोत्तर स्रष्टा परियारको जुठी कविता सङ्ग्रह भित्रको शीर्ष कविता जुठी पूर्वाञ्चल विश्वविद्यालयको पाठ्यक्रममा समावेश भई वि.ए दोस्रो वर्षमा अध्यापन भइरहेको छ ।
१२. शर्मिला कुमारी चौधरी (थारु भाषाकी अग्रणी महिला स्रष्टा): २०४२ कार्त्तिक १२ गते जन्मनुभएकी बेलौरी कञ्चनपुर निवासी शर्मिला चौधरीका थारु भाषामा दुःखके हल्कोरा उपन्यास, कम्लहरिया उपन्यास र मनके फुला काव्य सङ्ग्रह प्रकाशित छन् ।
१३. माधव चौलागाई (कर्णालीको उत्थानका लागि सक्रिय स्रष्टा): २०३४ साल मङ्सिर १७ गते जुम्लाको लाम्रामा जन्मनुभएका स्रष्टा माधव चौलागाईको सपादलक्ष कर्णाली नामक पुस्तक प्रकाशित छ । कर्णालीको इतिहास, भूगोल, संस्कृति, विशेषता, सम्पदा र विकासबारे केन्द्रित पुस्तक हो सपादलक्ष कर्णाली । स्वास्थ्य परियोजना सम्बन्धी अनुसन्धान लेखन र प्रतिवेदनमा समेत सक्रिय स्रष्टा चौलागाईका खस सभ्यता, कर्णाली केन्द्रित विषयवस्तु आदी विषयमा अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् ।
१४. गौरी तमु (तमु साहित्यको प्रवर्द्धनका लागि क्रियाशील स्रष्टा): २०३९ साल भदौ २८ गते नवलपरासीको गैँडाकोटमा जन्मनुभएकी हाल पोखरा निवासी स्रष्टा गौरी तमु (गौरीसरा गुरुङ) को समै दर्वानी नामक नेपालमै पहिलो गुरुङ र नेपाली भाषाको द्वि भाषिक मुक्तक सङ्ग्रह प्रकाशित छ । यसै गरी उनले गुरुङ साहित्य मञ्च नेपालमा अक्षयकोष स्थापना गरी गौरी तमु लेखन वृत्ति पुरस्कार समेत स्थापना गरेका छन् जुन हरेक दुई वर्षमा गुरुङ स्रष्टालाई दिइँदै आएको छ । स्रष्टा तमुका समसामयिक विषयसहित अनुसन्धानात्मक लेखहरू प्रकाशित हुँदै आएका छन् ।

प्रतिक्रिया