‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

बागलुङ । निसीखोला गाउँपालिका-४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पुर्याउँदै आएका छन् ।
पछिल्लो पाँच वर्षयता भने आयाति रङले घर पोत्ने चलन बढेपछि विकलाई दसैँ खर्च जोहो गर्न समस्या भएको छ । दसैँ आउनुभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रङ्ग्याउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको हो ।
स्थानीय कलीकुमारी सुनारले पहिले रातोमाटो र कमेरोमाटो निकाल्ने ठाउँ हाल झाडीले ढाकिएको सुनाए । गाउँमा खर र ढुङ्गेघर विस्थापित हुँदै गएपछि स्थानीयले माटोले पोत्न छोडेको उनको भनाइ छ ।
‘माटो बेचेर दसैँका बेला १० देखि २० हजार कमाउने गरेकी थिए । पछिल्लो समय काम गर्न छोड्नुपर्ने अवस्था आयो । बसाइँसराइ बढ्यो । विकासको प्रभावले बजारका सामानले ठाउँ लिए,’ सुनारले भने, ‘पहिलेजस्तो बारीबाट रातोमाटो ल्याउने अवस्था रहेन । अहिले गाउँमा मोटर गाडी आए, धेरैले पक्की घर बनाउन थाले । गाउँमा परम्परागत पहिचान हरायो, हाम्रो आम्दानी गुम्यो ।’
विगतमा रातोमाटो र सेतो कमेरोमाटोले घर पोतिनु गाउँको मौलिकता नै थियो । आधुनिकताले परम्परागत घर विस्थापित हुँदै गएपछि माटोले घर पोत्न चलन हराउँदै गएको छ ।

प्रतिक्रिया