एमाले केन्द्रीय कार्यालय प्रवलीकरण गरेर बस्न मिल्ने

नेपालखोज २०८२ असोज १० गते १३:१२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको छ ।

इञ्जिनियरहरुले बुझाएको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए ।

पार्टीले तोडफोड र आगजनीपछि इञ्जिनियरलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने भनेर अध्ययन गर्न लगाएको थियो । उनका अनुसार सात कोठा ‘रेक्ट्रोफिट’ गर्न मिल्ने र एउटा छत काम नलाग्ने भएकाले पुन:निर्माण गर्नुपर्ने इञ्जिनियरहरुको सुझाव रहेको छ ।

पार्टीको निर्वाचन विभागका प्रमुख आचार्यले आगजनी र तोडफोडबाट केन्द्रीय कार्यालयका सबै सामान जलेर नष्ट भएको बताए । उनले पार्टीले चाँडै नै केन्द्रीय कार्यालय भवनको प्रवलीकरण गर्ने जानकारी दिए ।

गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता-कार्यकर्ताका निजी घर तथा व्यवसायसमेत क्षतिग्रस्त भएका जनाइएको छ ।

प्रतिक्रिया