सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी

नेपालखोज २०८२ असोज १२ गते १२:२६

महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिका-३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण गर्न थालेपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको छ । बर्दिबास-३ को चुरेकाछको बस्ती कालापानीका २१० परिवार उपभोक्ता रहेका यी दुवै वनक्षेत्रमा चरीचरण र सिकारपूर्ण रूपले बन्द गरिएपछि वन्यजन्तु र पक्षीको सङ्ख्या बढेको हो ।

करिब तीन सय ५९ हेक्टरको कालीदमार र तीन सय ५० हेक्टरको रातु महिला सामुदायिक वनका कालापानीका २१० परिवार उपभोक्ता छन् । दुवै वन एउटै क्षेत्रभित्र पर्ने भए पनि वनको संरक्षणमा महिला सहभागिता बढाउने उद्देश्यले रातु महिला सामुदायिक वन बनाइएको उपभोक्ताको भनाइ छ । यसको उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यमा सबै महिला छन् ।

‘एउटै बस्तीका उपभोक्ताका दुई वटा सामुदायिक वन भएपछि संरक्षणको पहलकदमी बढेको छ’, कालीदमार सामुदायिक वन उपभोक्ता समितिका संस्थापक सचिव बालकिशोर रायमाझीले भने, वन संरक्षणमा यहाँका महिलाले देखाएको अग्रसरता अनुकरणीय छ । वनमा चरीचरणपूर्ण बन्द गरिएपछि एक-दुई वर्षको अन्तरालमा सालका पथरा हलक्क बढेका उनले बताए । उनका अनुसार वनमा बहुमूल्य मानिने साल (साखु, सखुवा) करिब ४० प्रतिशतभन्दा बढी छन् ।

अहिलेको कालीदमार वनक्षेत्रमा कालापानी उद्यान (पार्क) पनि निर्माण गरिएको छ । बिपी राजमार्गको दायाँ-बायाँ पर्ने यो संरक्षित वनक्षेत्रमा अहिले मयुर र लुइँचेपक्षी बाक्लै बढेका छन् । यसैगरी वनमा मृग, हरिण, दुम्सी, नीलगाई र बँदेलको सङ्ख्या पनि बढेको रायमाझीले जानकारी दिए । कालापानी उद्यानको संरक्षित वनक्षेत्रका हरिण मान्छेसँग खेल्ने गरेका उहाँको भनाइ छ । “यो वनक्षेत्रमा नयाँ चराचुरुङ्गी बढेका छन्, उनले भने ।

वन क्षेत्रको संरक्षणमा घरघरका महिलाले प्रत्यक्ष सहभागिता जनाउन थालेपछि सकारात्मक नतिजा आउन थालेका रातु महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुना श्रेष्ठले बताए ।

वन संरक्षणको क्षेत्रमा हामी महिला प्रत्यक्ष रूपमा सहभागी भई पहरेदारी गर्दै आएका छौँ, उनले भने, यो सामूहिक प्रयत्नले अहिले वन जोगिनुका साथै बढेको पनि छ । वन संरक्षणका लागि दुवैका उपभोक्ता समितिबीच आपसी समन्वय र सहकार्य हुने गरेको श्रेष्ठले बताए ।

अहिले वन संरक्षणमा महिलाको चासो बढ्दा सकारात्मक परिणाम देखिएका जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख एवं वरिष्ठ वन अधिकृत अजय मिश्रले बताए । उद्यान क्षेत्रमा बढेका विभिन्न रङका चराचुरुङ्गीको चिरिविर (कलरब) ले त्यसक्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया