फेयरलाँन पैलेस, झारीपानी, मसुरी

नेपालखोज २०८२ असोज १९ गते १८:३०

वि.सं. १९५७ फागुन २३ गते (सन १९०१ मार्च ५) मङ्गलवारका दिन श्री ३ वीर शमशेरको निधन लगत्तै देव शमशेर श्री ३ बनेका थिए । ३९ वर्षको उमेरमा श्री ३ बनेका देव शम्शेरका लागि भने श्री ३ को पद लामो रहन सकेन । आफ्नो समयकलामा निकै जनअपेक्षाको कार्य गरेका देव शमशेर आफ्नै भाइ चन्द्र शम्शेरका लागि भने नालायक बने । दास प्रथा उन्मुलनका लागि उनले कदम चालेका थिए । जुन उनका भाइ श्री ३ चन्द्र शमशेरको समयमा सफल भयो । उनकै समयमा गोरखापत्र छापिन थाल्यो भने देशैभर ५७ वटा संस्कृत पाठशालाहरू पनि खुले ।

भाइ चन्द्र शमशेरको षडयन्त्रको भनक पाए पनि खासै महत्त्व नदिएका देव शमशेर श्री ३ बनेको चार महिना पनि नपुग्दै पदच्युत भए । १९५८ असार १३ गते दरबार हाइस्कूलमा पुरस्कार वितरणका लागि पुगेका देव शमशेरलाई वीरशम्शेरका छोराहरू बिच अंश सम्बन्धी विवाद भएको हुँदा सुलह गरिदिन भन्दै सेतो दरबार लगिएका उनलाई भाइहरूले बन्दुक ताकेर पटुकाले बाँधेर आत्मसमर्पण गर्न लगाए । कन्चटमा पेस्तोल राखेर श्री ३ तथा प्रधानमन्त्रीको पदबाट राजीनामा दिन लगाइयो ।

राजीनामा दिनासाथ श्री ३ तथा प्रधानमन्त्रीको पदभार चन्द्र शमशेरले लिए । त्यही राती देवशम्शेरलाई निर्वासन गराइयो । राजधानीमा रहेको सम्पूर्ण सम्पत्तिको हकदार उनका भाइहरू भए । उनलाई म्यानामा राखेर कडा सुरक्षाका साथ धुलिखेलको बाटो धनकुटा पठाइयो । सातौँ दिन धनकुटा पुगेका उनी लामो समय त्यहाँ बसेनन् । भारतमा रहेको अङ्ग्रेज सरकारलाई शरणका लागि अनुरोध गरे पछि दिल्लीमा रहने व्यवस्था गराइ दिए पनि उनले मसुरीमा बस्न रुचाए ।

काठमाडौंमा उनको निर्वासनमा दुख मनाउने खासै कोही भएन । तर दरबारमा रहेकी एक नर्टकी गुल बफा भने साह्रै दुखित बनिन् । उनले महाराज देव शमशेरले काठमाडौं छोडे देखि केही खाइनन् । अन्ततः १७औ दिनमा उनको निधन भयो ।
हुन त दिल्लीमा रहेको अङ्ग्रेज सरकारले दिल्लीको कनाँट प्यालेसको एक भागमा बस्न अनुरोध गरेका थिए । तर त्यहाँ चन्द्रशमशेरले षडयन्त्र गर्न सक्ने भन्दै चिसो मौसम रहेको मसुरी रोजे । 

मसुरीमा पुगेका वहाँका लागि सानो तिनो घरले पुग्दैनथ्यो । ३ रानी, १२ छोरा, ४ छोरी, केही ल्याइते, केही सुसारे तथा थुप्रै नोकरचाकरका लागि भव्य दरवारको खाँचो थियो । केही समय पछि नै भारतमा रहेका कपुचिनहरु जो स्कुल खोल्दै धर्म प्रचार गर्दै आएका दुइ पाट्रिसियन दाजुभाइ फादर बेर्री र कपुचिन फ्रायरले जम्मा ३ लाख खर्चेर मसुरीकै झारीपानीमा भव्य दरवार बनाइदिए । यि दाजुभाइले मसुरीमा नै सेन्ट जर्ज कलेज सञ्चालन गरिसकेका थिए ।

भव्य दरवार तैयार भए पछि सो दरवारको नाम फेयरलाँन राखे । देव शम्शेरको बाकी जीवन फेयरलाँन प्यालेस, मसुरीमा नै रह्यो । त्यहीँ माहिली रानी कृष्णकुमारीको कोखबाट जन्मेका सातौ छोराको नाम मसुरी शमशेर राखे । मसुरी शमशेरका नाति धवल शमशेर भने नेपालगञ्ज उप-महानगरपालिकाका पूर्व मेयर हुनुहुन्थ्यो । हाल भने राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय हुनुहुन्छ ।
वि.सं. १९६८ को मंसिरको अन्तिम सप्ताहमा दिल्ली दरवारमा भएको बेलायती महाराज जर्ज पाँचौ तथा महारानी मेरीको राज्याभिषेकको भव्य कार्यक्रममा नेपालका श्री ३ चन्द्रशमशेरलाई पनि निम्तो पठाइएको थियो ।

सोही भव्य कार्यक्रमका समय श्री ३ चन्द्रशमशेरले दाजु देवशमशेरलाई पनि भेट्न चाहेको हुँदा देवशमशेरलाई पनि सो कार्यक्रममा बोलाइएको थियो । दुइ दाजुभाइको सो भेट अन्तिम नै भयो । सो भेटमा चन्द्रशमशेरले दाजुका लागि थुप्रै उपहारहरु पनि लगिदिएका थिए ।

यहि भेटको अवसरमा श्री ३ चन्द्रले दाजु देवशमशेरलाई बहुमुल्य हिराको औंठी उपहारमा दिए । चतुर भाइले आफूसंग भेट्न चाहेको थाहा पाएका दाजु देबशमशेरले पनि भाइ सामु आफू बिदेशी भूमीमा शरणार्थी झै रहे पनि श्री ३ भन्दा केही कम नभएको देखाउन आफूले श्री ३ हुँदा लगाएको श्रीपेच नै उपहारमा दिए । यो श्रीपेचमा जङ्गबहादुरले बाबासाहेव पेशवाबाट केवल रू ९३ हजारमा किनेको नौलखा हार जडित थियो ।

साथमा पेशवाबाट लिएका अन्य जवाहरातहरु समेत जडिएको थियो । सो अमुल्य उपहार पाएपछि श्री ३ चन्द्र लज्जित भएका थिए । यस भेटको केही समय पछि देवशमशेरले लामो समय विमार भएर मृत्यु नजिक पुगेको अनुभुति गरेपछि एकपटक काठमाडौ हेर्न चाहेको इच्छा ब्यक्त गर्दै भाइलाई पत्र पठाएका थिए । म धेरै बुढो भएँ, अब केही गर्न पनि सक्दिन । तर पनि मृत्यु अगाडि अन्तिम पटक आफ्नो जन्मभूमी हेर्न चाहन्छु । तसर्थ मलाई नेपाल फर्कने इजाजत देउ भने तर भाइ श्री ३ चन्द्रले दाजुको अनुरोधलाई अस्विकार गर्दै कडा जवाफ फर्काए, जसरी एक जंगलमा दुइ सिंह रहन सक्दैन, जसरी दुइ तरवार एकै म्यानमा रहन सक्दैन । त्यसरी नै तपाइ र म एउटै देशमा रहन सक्दैनौ ।

यसरी जीवनको अन्तिम घडी देश फर्कने सपना देखे पनि पुरा हुन नपाउँदै मसुरीको फेयरलाँन दरवारमा नै देवशमशेरको वि.सं १९७० माघ ७ मा देहावसान भएयो । वहाँको देहावसान पछि छोराहरुमा बाँडफाँड भयो । दरवारका केही भाग सरकारी स्कुलका लागि दान दिइयो । केही भागमा तिब्बती शरणार्थीहरुले गुम्बा बनाए । बिचको मुख्य दरवार रहेको भाग छोरा मसुरी शमशेरको हकमा रह्यो । नेपालमा प्रजातन्त्र आएपछि मसुरी शमशेरले सो दरवार त्यागेर नेपाल प्रवेश गरे ।

बेवारिस रहेको दरवारमा हिरामोती जवाहरात गाडिएको छ भन्दै मानिसहरु गएर खनेर हेर्दथे । केहीले जवाहरात पाएको भनेर चर्चा चलेको पनि थियो । अहिले दरवार पूर्ण रुपमा खण्डहर बनिसकेको छ ।

प्रतिक्रिया