कतिंपुन्ही अर्थात् कोजाग्रत पूर्णिमा, दसैँको अन्तिम दिन

काठमाडाैं । दसैँको अन्तिम रात कोजाग्रत पूर्णिमाको दिनलाई बुद्धमार्गीहरु कतिंपुन्हीको रूपमा महादीप दान गर्ने गर्दछन् । अन्य नेवा:ले भने महालक्ष्मीको पूजा गर्ने गर्दछन् । आश्विन शुक्ल पूर्णिमाको दिन दशैको दुर्गा पक्षको अन्तिम दिन हो । यसै दिन १५ दिन लामो दशैको पर्व समाप्त हुन्छ । यस पूर्णिमाको रात महालक्ष्मी पृथ्वीमा विचरण गर्न आउने भन्ने मान्यतामा महालक्ष्मीको पूजा गरेर रातभर जाग्राम बस्ने गरिन्छ । कोजाग्रत अर्थात् को जागेको छ भनेर लक्ष्मी देवीले पृथ्वीमा भ्रमण गर्ने विश्वासमा यस रात जाग्राम बस्ने गरिन्छ ।
साथै यसै रातबाट नै चन्द्रमाको षोडशकलाको शुभारम्भ हुने हुँदा सोह्र (षोडश) लक्ष्मीको पूजा गर्ने गरिन्छ । वर्षको बाह्र पूर्णिमामा शरद पूर्णिमाको रातलाई चन्द्रमाको सबैभन्दा सुन्दर रूप हुने विश्वास गरिन्छ भने लक्ष्मीपूजाको दिनको औँसीको रातलाई सबैभन्दा निष्कपट अन्धकारको रात भन्ने गरिन्छ ।

यस पूर्णिमाको रातलाई भारतीय हिन्दुहरू शरद पुनमकी रात भनेर विशेष रूपले व्रत बस्ने गर्दछन् । यस दिनको व्रत वा पूजा गरी विशेष रूपले धनकी देवी महालक्ष्मीलाई सम्झने गर्दछन् । यस रातलाई हिन्दुहरू कोजाग्रतका रूपमा रातभर जागरण बसेर भजनकिर्तन गरेर बिताउने गर्दछन् ।
आलंमत (आकाश दीप) आजकै रातबाट घर बाहिर बाल्ने गरिन्छ । जसलाई आकाश दीप पनि भन्ने गरिन्छ । आकाश दीपलाई नेवा:हरु आलंमत भन्ने गर्दछन् । आलंको अर्थ आकाश र मतको अर्थ दीप (बत्ती) हुने हुँदा आकाश दीप भन्ने गरिन्छ । तर बोलीचालीमा आलु मत पनि भन्ने गरिन्छ । आखिर आकाश दीप किन बालिन्छ भन्नेमा विभिन्न मत छ । भारतीयहरू पनि आकाश दीप बाल्ने गर्दछन् ।
जसले गर्दा यो प्रचलन केवल नेवारहरुको मात्र भन्न सकिँदैन । साथै यो प्रचलन भारतबाट नै नेपालमा पनि भित्रिएको सहजै अनुमान गर्ने सकिन्छ । नेपालमा पनि अन्य जातिको तुलनामा अत्यधिक नेवारहरुले बालेको भने पाउँछौ । यसको अर्थ यसको प्रचलन केवल काठमाडौँ उपत्यकामा व्यापक हुन पुगेको भन्न सक्दछौ ।

आकाश दीपलाई विष्णु भगवानलाई दीप दान गर्ने पनि भनिन्छ । महालक्ष्मीको पूजन पछि घरको बाहिर तुलसीको मठको नजिकै वा बाहिर खुला ठाउँमा लामो बाँसमा दीप बालेर झुन्ड्याउने गरिन्छ । बाहिरी हावाले दीप ननिभुन् भनेर पातलो कागजले हावा छेक्ने बनाइन्छ । अघिल्ला रातहरूमा चन्द्रमाको उज्यालोमा आकाश दीपको त्यति महत्त्व नदेखिए पनि बिस्तारै आउने औँसीको रातमा भने यी आकाश दीपहरु निकै आकर्षक देखिन्छ । अँध्यारो रातमा हिँड्ने बटुवाहरूलाई अन्धकारले कठिनाइ नहुन भनेर दीप प्रज्वलन गरिएको आभास हुन्छ । भारतमा भने आकाश दीप माटोको घडाको पनि बनाइन्छ जसको चारैतिर प्वाल पारिएको हुन्छ ।
जसले गर्दा भित्रको दीपको उज्यालो बाहिर फैलिन्छ । तर अधिकांश स्थानमा भने आकाश दीप बाँसको बनाइन्छ जसमा बाहिरबाट चारैतिर कागज टासेको हुन्छ । बनारसका घाटमा असङ्ख्य आकाश दीप जलाइन्छ । जसको अर्थ मृतात्माहरूको पूण्य यात्रामा पनि उज्यालो रहिरहोस् भनेर असोज शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमासम्म रातमा आकाश दीप बाल्ने गरिन्छ ।

हिन्दु आख्यानहरूमा भने केही भिन्न रूपमा पनि आकाश दीपको चर्चा गरेको पाउँछौँ । भगवान् राम लङ्का विजय गरिसकेपछि सितालाई साथ लिएर अयोध्या फर्कने समय समयमा नै अयोध्या पुग्नका लागि दिन रात हिँडेका थिएँ । यसरी हिँड्ने समय बाटोमा अन्धकार नहोस् भनेर यो आकाश दीप घर बाहिर तुलसीको मठ नजिकै लामो बाँसको टुप्पोमा बाल्ने गरेको हो पनि भन्ने गरिन्छ ।
उपत्यकामा बालिने आलंमत: वा आकाश दीप झैँ चीन, जापान लगायत दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा पनि यस्तै किसिमको बत्ती बाल्ने गरिन्छ । जापानमा तोरो नागाशील फेस्टिभलमा जुन नेपाली साउन महिनाको अन्ततिर पर्दछ । यस समय साँझ घाम डुबे पछि हजारौँ बलिरहेको बत्तीलाई नदीमा बगाइन्छ ।
जसले नदी पुरै उज्यालो प्रकाशले मोहक देखिन्छ । चीनमा करिब २ हजार वर्ष अगाडि हान राजवंशको समय देखि मृतात्माहरूलाई सम्झने पर्वका रूपमा तेंग चीह फेस्टिभल मनाउने गरिन्छ । भदौको अन्तिम तिर पर्ने यस पर्वमा मृतात्माहरूका लागि बलिरहेको बत्तीलाई नदीमा बगाइन्छ । यस पर्वमा मृतात्माहरूका लागि विभिन्न परिकारहरू बनाएर नदी किनारमा छोडिन्छ ।

त्यस्तै थाइलैण्डमा वर्षको दुई पटक यस किसिमको बत्तीको उत्सव मनाउने गरिन्छ । यी पेग नाम गरेको उत्सवमा नेपालमा बनाइने कागज र बाँसको आकाश दीप जस्तै बत्तीलाई आकाशमा उडाइन्छ । यस्तै लोई क्रथाँन्ग नाम गरेको उत्सवमा बत्तीलाई पानीमा बगाइन्छ । थाइलैण्डको पात्रो अनुसार दोस्रो चन्द्र महिनाको पूर्णिमाको रात तथा बाह्रौँ महिनाको पूर्णिमाको रातमा मनाउने गरिन्छ ।
षोडश लक्ष्मीको पूजा
षोडश लक्ष्मीको पूजामा धनलाई लक्ष्मीको रूपमा हिन्दुहरू पूजा गर्ने गर्दछन् । तसर्थ लक्ष्मीलाई धनलक्ष्मी भन्ने गर्दछन् । नेपाल पनि हिन्दु राष्ट्र रहेको हुँदा यहाँ पनि लक्ष्मीको पूजा धूमधामले गर्ने गरिन्छ । तर लक्ष्मी पनि षोडश लक्ष्मी रहेको कमैलाई जानकारी रहेको छ । एउटै लक्ष्मीले सबै कुरा पुरा गर्न सक्दैन । यसर्थ सोह्र लक्ष्मीलाई पुज्नुका पछाडि अलग अलग उद्देश्य रहेको पाउँछौ । अधिकांशले सम्पूर्णको एक स्वरूप महालक्ष्मीलाई कार्तिक कृष्ण औँसीको रातमा पूजा गर्ने गर्दछन् । सम्भव भए सम्म हामीले षोडश लक्ष्मीको पूजा आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक कृष्ण औँसीको रातसम्म सोह्र दिन नै गर्नुपर्छ ।
षोडश लक्ष्मीको सोह्र कलाको स्वरूपमा पहिलो दिनको पूजा कोजाग्रत पूर्णिमाको रात देखिने पूर्ण चन्द्रबाट सुरु हुन्छ भने यसपछि प्रत्येक दिन चन्द्रमाको परिवर्तित आकृतिमा सोह्र दिन सम्म अर्थात् कार्तिक कृष्ण औँसीको निष्कपट अन्धकार रातसम्म पूजा गर्ने गरिन्छ । यसरी सोह्र कलाको स्वरूप भएको चन्द्रसँगै सोह्र लक्ष्मीको पूजा गरिन्छ । सोह्र लक्ष्मी अजिमाको रूपमा नेवा:हरुले महालक्ष्मी, सिद्धिलक्ष्मी, बुद्धलक्ष्मी, विश्वलक्ष्मी, भुवनलक्ष्मी, मन्दस्लक्ष्मी, गृहलक्ष्मी, धान्यलक्ष्मी, खड्गलक्ष्मी, सन्तानलक्ष्मी, सत्यलक्ष्मी, मोक्षलक्ष्मी, प्रतिलक्ष्मी, ज्ञानलक्ष्मी, राज्यलक्ष्मी तथा धनलक्ष्मीको पूजा सोह्र दिनसम्म गरिन्छ । अन्तिम दिन लक्ष्मी पूजाको रात धनलक्ष्मीको पूजा गर्ने गरिन्छ । सोह्र लक्ष्मीबाट हामी ज्ञान, विवेक, साहस र बल, सफलता, बुद्धिमान सन्तति, लामो आयु, यथेष्ट अन्न, खुसी र आनन्द, बुद्धिमत्ता, सौन्दर्य र आकर्षण, उच्च लक्ष, उच्च सोच, ध्यान, नैतिकता, राम्रो स्वास्थ्य तथा सुन तथा अन्य प्रकारको धन माग्दछौ ।
यस्तै लक्ष्मी स्तुतिमा आदि लक्ष्मी (भाग्य र समृद्धिको देवी), सन्तान लक्ष्मी (सन्तान प्राप्ति गराउने देवी), विद्या लक्ष्मी (ज्ञान शिक्षा तथा सिपको देवी), धन लक्ष्मी (धन पैसाको देवी), धान्य लक्ष्मी (अन्न र सु-स्वास्थ्य की देवी), मेधा लक्ष्मी (विधि र विवेकको देवी), गज लक्ष्मी (शक्ति, श्रोत र साधनकी देवी), धीर लक्ष्मी (वीरता र धैर्यताको देवी), जय लक्ष्मी (सफलता तथा विजयको देवी), भाग्य लक्ष्मी (भाग्य र अवसरको देवी), कीर्ति लक्ष्मी (यश तथा कीर्तिकी देवी), आरोग्य लक्ष्मी (स्वस्थताको देवी), सिद्धि लक्ष्मी (प्रगति तथा उन्नतिको देवी), सौन्दर्यलक्ष्मी (सौन्दर्य तथा रूप की देवी), साम्राज्यलक्ष्मी (मोक्ष प्राप्ति, अधर्म मुक्तिको देवी) तथा मङ्गललक्ष्मी (शुभ लगनको देवी) गरी सोह्र लक्ष्मीको स्तुति गरेको पाउँछौ ।
सोह्र लक्ष्मीको पूजनको अन्तिम दिन अर्थात् लक्ष्मी पूजाका दिन नेवाःहरुले पूजा गर्ने लक्ष्मी अन्यले पूजा गर्ने लक्ष्मीसँग मिल्दैन । नेवा:हरुले पूजा गर्ने लक्ष्मी स्थानीय चित्रकारहरूले कागजमा बनाएको चित्रमा पूजा गर्ने गर्दछन् । मूर्तिमा पूजा गर्दैनन् । चार हात भएको पद्मासनमा बसेको लक्ष्मीको एक पाउ कछुवाको जिउमा टेकेको हुन्छ । अर्थात् नेवारहरूले पूजा गर्ने लक्ष्मीको वाहन कछुवा हो । कछुवा सुस्त जीवमा पर्दछ साथै सहनशील प्राणी पनि भनिन्छ । यसर्थ धन खर्चिदा कछुवाको चालमा बिस्तारै खर्चिनु पर्छ भन्ने सन्देश दिन्छ । दायाँ हातमा ज्वालान्याहक र बायाँ हातमा सिन्हमू बोकेको हुन्छ । यो दुवै सामग्री नेवारहरूको कुनै पनि शुभ कार्यमा आवश्यक मानिन्छ । अन्य दुई हात भने अभय र वर मुद्रामा हुने गर्दछ । साथै लक्ष्मीको दाँयावाँया कुवेर र ख्याक बसेको हुन्छ । कुवेरलाई धनसम्पतिको मालिक र ख्याकलाई धनसम्पतिको रक्षकको रूपमा लिइन्छ । रातो वर्णको लक्ष्मी महर्षिमर्दिनी हुन् । महिषासुरको बध गर्दा उग्र रूप धारण गर्ने महर्षिमर्दिनीलाई नै नेवारहरू महालक्ष्मीको रूपमा पुज्ने गर्दछन् ।
यसर्थ नेवारहरू लक्ष्मीको पूजा गर्दा राँगाको मासुको छ्वेयला, अण्डा, समयवजी तथा रक्सी र जाँड पनि चढाउने गर्दछन् । लक्ष्मी पूजासँगै नेवारहरूको स्वन्ति नखस्को पनि सुरुवात हुन्छ । स्वन्ति भन्नाले तीन दिनसम्म मनाइने पर्व भएको हुँदा स्वन्ति भनिएको हो । नेवारहरू यमपञ्चक मनाउने गर्दैनन् । केवल तीन दिन स्वन्ति नखस् मनाउने गर्दछन् । लक्ष्मी पूजाको दिन वर्षको अन्तिम दिन भएको हुँदा व्यापारिक खाताको पनि अन्तिम दिन हुने गर्दछ । भोलिपल्ट कछलाथ्व प्रतिपदाको दिनबाट नयाँ वर्ष मनाउने गर्दछन् । यसै दिन नेवारहरू म्ह पूजा गर्ने गर्दछन् । नयाँ वर्षमा नयाँ उमङ्ग र सफलताले भरिएको होस भनेर शरीर तथा आत्मा पूजा गर्ने गरिन्छ । म्ह पूजाको भोलिपल्ट भने दिदीबहिनीहरू दाजुभाइको पूजा गरेर किजा पूजा मनाउँछन् । यसरी तिहारको तीन दिन हर्षोल्लाससँग मनाउने गर्दछन् ।
लक्ष्मी पूजाको रात सोह्रौँ रात हुनुपर्ने हुँदा आजबाट नै आकाश दीप दान सुरु गर्नुपर्दछ । साथै आजैबाट सोह्र लक्ष्मीको पूजा पनि गर्न सकिन्छ । साथै यस वर्ष पनि नेवा:हरुमा विवादित रूपमा स्वन्ती नख: हुने सम्भावना देखिन्छ । तसर्थ कार्तिक ४ गते लक्ष्मी पूजा, ५ गते म्ह पूजा र ६ गते किजा पूजा मनाउनु पर्दछ । कार्तिक ४ गते राति प्रतिपदा तिथि हुने हुँदा अघिल्लो रात लक्ष्मी पूजा गर्ने भनिए पनि नेवाः ठ्यासफू अनुसार सूर्य उडाउँदा जुन तिथि हुन्छ, सो नै दिनभर मान्य हुने भनिएको हुँदा कार्तिक ४ गते रातमा लक्ष्मी पूजा गर्नु उपयुक्त हुन्छ । साथै नेवा:हरु स्वन्ती नख: मनाउने हुँदा लक्ष्मी पूजा गरेको भोलिपल्ट खालि राखिँदैन । लक्ष्मी पूजा देखि किजा पूजा सम्म लगातार तीन दिन मनाउनु पर्दछ ।









प्रतिक्रिया