२०११ सालको भयावह बाढी : त्रिभुवन युगको अन्त्य र महेन्द्र युगको सुरुवात

अहिले देशैभर बाढी र जनधनको क्षतिको त्रास फैलिएको छ । सरकारले सार्वजनिक यातायातमा रोक लगाउँदै अति आवश्यक भएमा मात्र यात्रा गर्न अनुरोध गर्दै सार्वजनिक बिदा समेत दिएको छ । देशले सबैभन्दा ठुलो क्षति बेहोरेको बाढी ७१ वर्ष अगाडि आएको थियो ।
७१ वर्ष भयो नेपालमा ठूलो र भयावह बाढी जसले देशमा परिवर्तनको लहर शुरु भयो । साथै सुस्त र अनिर्णित राजा त्रिभुवनको युग अन्त्य गरि बिकासप्रेमी परिवर्तनको युगको प्रतीक राजा महेन्द्रको युगको शुरुवात भएको भयावह बाढी थियो । ९० सालको महाभूकम्पको विपत्ति धेरैले बिर्सिएकै थिएनन् । त्यस दु:खद घटनाको करिब २१ वर्षपछि देशमा फेरि अर्को विपत्ति आइलाग्यो । यो विपत्ति पनि प्रकृतिले नै गरेको प्रहार थियो । तर, आज इतिहास पढ्नेहरूले जति ९० सालको भूकम्प याद गर्छन् तर ११ सालमा देशमा ठूलो बाढीबाट खति भएको थियो भन्ने थाहा पाउँदैनन् । यस बाढीले देशका कतिपय ठाउँहरूको भूबनोट नै परिवर्तन भएको थियो भने कतिपय नयाँ बस्ती तथा शहरको जग बसेकोे थियो ।
वास्तवमा भन्ने नै हो भने २०११ सालको त्यो भयावह बाढी राजा त्रिभुवनको युगको अन्त्य र राजा महेन्द्रको युगको सुरुवात पनि हो । यसले सुस्त र अनिर्णित राजा त्रिभुवनको युगको अन्त्य भएको थियो । र, छिटो निर्णय गर्न सक्ने र परिवर्तनको युगको प्रतीक राजा महेन्द्रको युग सुरु भएको थियो ।
साथै, देशमा यति विपत्ति आइलागेको बेलामा प्रधानमन्त्री मातृका प्रसाद कोइराला एपेन्डिसाइटिसको अप्रेसनका लागि कलकत्ता पुगेका थिए । बिरामी राजा, बिरामी प्रधानमन्त्री र देश समेत बिरामी अवस्थामा थियो त्यो बेला ।
२०११ सालको ८ साउन शुक्रबारको दिनदेखि लगातार मुसलधारे पानी पर्न थालेको थियो । पानी रोकिने नाम नै लिएको थिएन । १२ गतेसम्म पाँच दिन एकतमास परेको पानीले गर्दा बित्यासको आशंका धेरैले गरिसकेका थिए । नभन्दै १२ गतेकै दिनमा बाढीले विनाश गरेका समाचारहरू आउन थाल्यो ।
पूर्वी तराईको कोशी र मध्य नेपालको लोथर र मनहरीमा आएको बाढीले गर्दा राप्ती नदीमा बाढी आएको थियो । उता काठमाडौंमा बागमती र विष्णुमतीमा पनि बाढी आएको थियो । यसरी नै देशका अन्य ठूला नदीहरूमा बाढी आउँदा जनधनको क्षति भएको थियो । यसरी बाढीले विनाश गरेको एक महिनापछि ५ भदौदेखि लगातार परेको पानीले भदौ १० गते नेपालका प्राय: नदीनालाहरूमा फेरि दोस्रोपटक बाढी आएको थियो ।
यसरी दोस्रोपटक आएको बाढी अझ डरलाग्दो रह्यो । यो बाढी पनि पूर्वी नेपालको कोशी, मध्य नेपालको राप्ती, बागमती, त्रिशूली, नारायणी तथा पश्चिम नेपालका प्रमुख नदीहरूमा आएको थियो । यसका साथै पोखराको फेवातालको हर्पन खोला, बेगनासको खुदी खोला तथा रूपातालको तालबेसी खोलामा पनि बाढी आएको थियो ।
यस बाढीबाट भीमफेदी, विराटनगर, धरान, धनकुटा, वीरगञ्ज, रौतहट, झापालगायत विभिन्न शहरमा समेत अत्यधिक वर्षाले क्षति पुगेको थियो । त्यो समय काठमाडौं उपत्यकामा मापन गरिएअनुसार लगातार चार दिनसम्म सरदर १५२ मिलिमिटर वर्षा भएको थियो । काठमाडौं उपत्यकामा बागमती नदीमा समेत बाढी आएको थियो । अघिल्लो बाढी आएको केही दिनपछि १६ साउनमा सरकारका तर्फबाट क्षति निरीक्षणका लागि गएको थियो । काठमाडौं उपत्यकामा चाबहिलबाट साँखु तथा सुन्दरीजल जाने बाटोका विभिन्न ठाउँमा क्षति पुगेको थियो । कतिपय ठाउँमा मानिस हिँड्न पनि कठिन देखिएको थियो । यो सडक उपत्यकाका लागि निकै महत्वपूर्ण बाटो थियो । यही सडक भएर काठमाडौं उपत्यकामा दैनिक आवश्यक पर्ने दाउरा तथा अन्नहरू आउने गर्दथ्यो । थानकोटबाट भीमफेदी, धुर्सिङ, भैँसे जाने बाटोमा पनि क्षति पुगेको थियो ।
उपत्यकासँग तराई जोड्ने बाटो यही नै थियो । त्यसबेलासम्म त्रिभुवन राजपथ बनिसकेको थिएन । भारतसँग रेल सेवा जोडिएको अमलेखगञ्जसम्मको रेल सेवा पनि अवरुद्ध भएको थियो । काठमाडौंबाट धुर्सिङसम्मको सडक बिग्रिँदा रोपवेबाट धुर्सिङ ल्याइएका सामानहरू पनि गोदाममा थन्किएका थिए । उता वीरगञ्जमा पनि त्यो समयमा ३२ वर्षमा सबैभन्दा बढी पानी परेको हुँदा प्राय: ठाउँ डुबानमा परेका थिए ।
अघिल्लो बाढीले ठूलो जनधनको क्षति नभए पनि पछिल्लो बाढीले भने ठूलो क्षति पुगेको थियो । देशभरमा १ हजारभन्दा बढीको मृत्यु भएको थियो । सो समय कास्कीको सौरेबजार नजिकै पहिरो जाँदा लमजुङबाट आएका तथा लमजुङ जानका लागि बास बसेका १०० भन्दा बढी भरियाहरू एकै चिहान भएका थिए भन्ने गरिन्छ ।
सो समय गोरखा जिल्लामा पनि पहिरोका कारण सयौँको मृत्यु भएको थियो भने कोशीमा आएको बाढीले ६०० भन्दा बढीको मृत्यु भएको थियो । यसका साथै मनहरी र लोथर नदीमा आएको बाढी तथा पहिरोले धेरै गाउँका घरहरू लगेको थियो । यस बाढीकोे प्रभावले दोलखादेखि गोरखासम्मको भूधरातलमा परिवर्तन ल्याएको थियो । देशभरमा करिब ३ हजार घर क्षतिग्रस्त भएका थिए भने २ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको थियो । यस सम्बन्धी १८ साउनको गोरखापत्रमा प्रकाशित समाचार अनुसार सो अविरल वर्षाले अमलेखगञ्ज–रक्सौल रेललाइन पनि बन्द भएको थियो, जो पछि सुचारु भयो ।
टेलिफोन लाइन पनि बिग्रिएको थियो । सो पनि चिसापानी गढी सम्म सुचारु गरिसकेको थियो । धुर्सिङ र भैँसेमा पनि बाढीले क्षति गरेको थियो । रोपवेको गोदाम धुर्सिङमा लाखौँ रुपैयाँ बराबरको माल पनि पानीले भिजेर नष्ट भएको समाचारमा उल्लेख गरिएको थियो । ३२ वर्षपछिको ठूलो वर्षात भएको हुँदा यसले वीरगञ्जमा पनि ठूलो क्षति भएको थियो । धनकुटामा पनि निकै नोक्सानी भएको समाचार थियो । २० साउनको गोरखापत्रको समाचार अनुसार वर्षात्का कारण बन्द भएको रोपवे लाइन पनि १७ साउन दिउँसो २ बजेबाट चालु भएको थियो ।
२०११ सालको बाढीपछि त्यसबेला प्रधानमन्त्री रहेका मातृकाप्रसाद कोइरालाले क्षतिको विषयमा अध्ययन गर्ने एक समिति नै बनाएका थिए । उपत्यकांचलका कमिश्नर मन शमशेर जबराको अक्ष्यक्षतामा विशेष परिस्थिति नियन्त्रक कमिटी गठन गरेको थियो । यस कमिटीका अन्य सदस्यहरूमा ब्रिगेडियर जनरल पद्मबहादुर शाह, काठमाडौं डिस्ट्रिक्ट मेजिस्ट्रेट रङ्गनाथ उप्रेती तथा भगिरथ उपाध्याय रहेका थिए । त्यसैगरी, सल्लाहकार परिषद्का सभापति बालचन्द्र शर्माको अध्यक्षतामा बाढीपीडित सहायता कमिटी गठन गरिएको थियो ।
अध्यक्ष : बालचन्द्र शर्मा
सदस्य : प्रधानमन्त्री मातृकाप्रसाद कोइराला
सदस्य : रक्षामन्त्री केशर शमशेर
सदस्य : गृहमन्त्री टंकप्रसाद आचार्य
सदस्य : यातायातमन्त्री भद्रकाली मिश्र
पूर्वी पहाड खण्डबाट
सदस्य : कुलचन्द्र कोइराला
सदस्य : भूदेव राई
पूर्वी तराई खण्डबाट
सदस्य : गुलावनारायण झा
सदस्य : बेदानन्द झा
पश्चिम पहाड खण्डबाट
सदस्य : गयाप्रसाद शर्मा
सदस्य : पुष्करनाथ उप्रेती
पश्चिम तराई खण्डबाट
सदस्य : कुँवर कल्लुसिंह
सदस्य : दानबहादुर श्रीवास्तव
उपत्यका संघीय खण्डबाट
सदस्य : भीमबहादुर श्रेष्ठ
सदस्य : बासुपासा
२० साउनमा बाढीपीडितका लागि सहयोग गर्न प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले देशवासीका नाममा सन्देश दिएर भोलिपल्ट नै उपचारका लागि कलकत्ता हिँडेका थिए । ५ भदौमा मातृकाप्रसाद कोइरालाले नेहरूलाई लेखेको पत्रको जवाफ १४ भदौमा दिएका थिए । त्यस पत्रमा देशमा रहेको कठिन परिस्थितिमा प्रधानमन्त्री र राजा दुवै बिरामी हुनुको कारणले अन्य (युवराज महेन्द्र)ले भूमिका खेल्न पाउने जिक्र गरेका थिए ।
त्यस पत्रमा कठिन परिस्थितिको अर्थ राजनीतिक रहेको हामी पाउँछौँ । साथै, नेहरूले तत्कालीन समयमा रहेका प्रहरी प्रमुखको भूमिका र छविको विषयमा पनि प्रश्नचिह्न लगाएका थिए । बाढीका बारेमा चर्चा गर्दै भारत पनि यसका कारणले दु:खित रहेको जानकारी दिएका थिए । साथै, नेपालमा भारतीय दूतका रूपमा पठाइएका केबी भाटियाले आवश्यकताअनुरुप सहयोग गर्ने आश्वासन पनि दिएका थिए ।
११ सालको बाढीले गर्दा सो समय रोपिएका बालीहरू मात्र नष्ट भएनन् । खेतहरूमा बाढीले बगाएर ल्याएको बालुवा तथा गेगर थुप्रिँदा पछिका सात वर्षसम्म उब्जनी हुन सकेन । जसले गर्दा देशमा अनिकाल पर्न गयो । सम्पन्नहरूले महँगोमा दाल, चामल खरिद गरेर पनि खाए तर गरिबहरूका लागि भने ठूलो समस्या भयो, जसले गर्दा आफ्नो गाउँघर छोडेर अन्य शहरतिर बसाइँ सरे ।
यसरी त्यसबेला नेपालीहरु गाउँघरबाट रोजीरोटीका लागि परदेश जान थालेको पनि थियो । शहर गएकाहरूले कमाएर गाउँमा पैसा पठाउन थालेपछि गाउँमा रहनेको पनि जीवन निर्वाह भएको थियो । २०११ को बाढीले आमजीवनको दैनिकी मात्र तहसनहस गरेन, सबैभन्दा भयावह ताण्डव देखाएको कोशी नदीले त बाटो नै फेरेको थियो । भारतको विहार राज्यलाई दु:ख दिने कोशी नदीमा ठूलो बाँध बनाउने भारतको सपना अन्तत: २०२२ सालमा बल्ल पूरा भयो । तर, यस बाँधबाट नेपाललाई निकै फाइदा हुने सपना देखाइए पनि उल्टो घाटा भइरहेको छ ।
नेपालमा आएको भयावह बाढी त्यो समय आएको थियो, जुन बेला नेपाल अस्थिर राजनीतिक संकटमा थियो । बिरामी तथा सुस्त राजा जसमा राजकाजभन्दा बढी ऐसआराम चाहिन्थ्यो । धेरै सपना बोकेका तर अधिकार कम भएका युवराज थिए । राजनीतिक पार्टीहरू लामो राणा शासनकालबाट मुक्त भएपछि सत्तालोलुप भएर खिचातानीमा समय बर्बाद गरिरहेका थिए । उता दक्षिणतर्फको भारत भर्खर भर्खर बेलायती साम्राज्यबाट मुक्त भए पनि आर्थिक रूपले कठिन परिस्थितिमा गुज्रिरहेको थियो । यता उत्तरतर्फको तिब्बत आफ्नो अस्तित्व जोगाउने धुनमा थियो ।
हरेक नराम्रा घटना राम्राका लागि पनि सुरुवात हुने गर्दछन् । ११ सालको बाढीले पनि केही राम्रा कुराहरू पनि दिएको छ । बाढीपीडितहरूलाई आश्रय दिनका लागि नयाँ ठाउँमा बसोबासको व्यवस्था मिलाइएको थियो । त्यसले गर्दा नयाँ शहरहरू पनि बनेका थिए । बाढी तथा पहिरोपीडितहरूका लागि अहिलेको चितवनमा जंगल फाँडेर बसोबासको सुरुवात गरिएको थियो । पूर्वमा इटहरी पनि बाढीपीडितहरूलाई बसोबास दिने क्रममा नै बिस्तारै शहरको रूपमा परिवर्तन हुन थालेको थियो । २०११ सालकै बाढीबाट पीडित बनेका बखानसिंह गुरुङ गोरखाबाट चितवन बसाइँ सरे । ११ र १२ माघ २०१२ मा भएको नेपाली कांग्रेसको वीरगञ्ज अधिवेशनले सहकारीको अवधारणा ल्याएको थियो । यसै अधिवेशनमा भाग लिएका बखानसिंह गुरुङले ‘बखानपुर सहकारी ऋण समिति’ नामक सहकारी २०१३ सालमा गठन गरेका थिए । यसरी बाढीपीडितहरूको समूहबीच पहिलो पटक सहकारी सुरु भयो ।
यसरी नै ११ सालको बाढीपछि नेपालमा विदेशी सहयोगको सुरुवात भएको थियो । अमेरिकी सरकारले बाढीपीडितहरूका लागि सहयोग बापत २० लाख डलर अनुदान दिने भएपछि २५ हजार बाढीपीडितहरूलाई राप्ती उपत्यकामा बसोबास गराउने योजना समेत बन्यो । राप्ती दुन क्षेत्रका हटिया, माडी, हेटौँडा, बसाहामाडी, रमौली, प्रभातपुर, चितवन, बेलौद, काला बजार, टाँडी, नवलपुर आदि इलाकामा बसोबासको थालनी भयो । यसका साथै कोशीपीडितहरू इटहरीमा बसोबास गर्न पुगे ।
हुन त इटहरीमा अचानक बसोबास र जनघनत्व बढ्नुको प्रमुख कारण २०१० सालको आगलागी थियो । यस समय फुसका ६५ घर जलेर नष्ट भएका थिए । तर, क्षतिपूर्ति माग गर्दा १०७ परिवारले घडेरी पाए । दुई हजार रुपैयाँ प्रतिबिघामा बाँडिएको ती जग्गाहरूमा पक्की घर बने । यसरी बसोबास सुरु भएको इटहरी राणाकालमा भने केही राणा परिवारको ब्यक्तिगत नाममा थियो । मोहनविक्रम शाह, कोमलकुमारी शाह (राम शमशेरकी छोरी), लक्ष्मण शमशेर राणा, केन्द्र शमशेर राणा, दीपक शमशेर राणा, रविविक्रम राणा, प्रकाश शमशेर राणा, भरतविक्रम राणालगायत केही राणाको निजी सम्पत्ति थियो ।
अमेरिकी सहयोग संस्था यूएसओएमले नेपालमा आफ्नो काम गर्न थालिसकेको थियो । दुन उपत्यकालाई बसोबास योग्य बनाउनका लागि औलो उन्मूलन गराउन डीडीटी छर्ने तथा विभिन्न योजनाको सुरुवात भइसकेको थियो । यसैबीच, साउन र भदौमा अत्यधिक वर्षा भई बाढी आएर जनधनको क्षति भएपछि अमेरिकी सरकारले सहयोगका लागि नेपाल सरकारसँग सम्झौता गर्यो । ६ कात्तिकमा कलकत्तामा नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र यूएसओएमका निर्देशक पाउल रोजबीच भएको सम्झौताअनुरुप अमेरिकी सरकारले २० लाख डलर अनुदान दिने भयो ।
२०११ सालको बाढीपछि नै राप्ती दुन परियोजनाको शुभारम्भ भएको थियो । योसँगै चितवन क्षेत्रमा बस्ती विकास शुभारम्भ पनि भयो । पहाडबाट मानिसहरू भित्री मधेश झर्न थाले । बाढीपीडित भनिए पनि बाढीले कुनै धनजनको क्षति नभएका धादिङ, गोरखा, लमजुङ, कास्की, मकवानपुर, म्याग्दी, कुस्मा, बागलुङबाट समेत सित्तैँमा घडेरी पाइन्छ भन्दै चितवनतिर लागेका थिए । त्यो समय एकै परिवारले सयौँ बिघासम्म जग्गा ओगटेका थिए ।
राप्ती दुन परियोजनाको उद्देश्य चितवनका खाली जग्गामा पहाडका जनता ल्याएपछि खेती हुने तथा अन्न उब्जनी बढेर देश आत्मनिर्भर हुने योजना थियो । तर, त्यहाँ खेतीका उद्देश्यले भन्दा जग्गा ओगट्ने उद्देश्यले पुग्नेहरू धेरै भए । चितवनलाई हेटौँडासम्म जोड्ने सडक मार्ग पनि यही योजना अन्तर्गत थियो ।
असोजको तेस्रो साता राजा त्रिभुवन उपचारका लागि स्वीट्जरल्यान्ड सवारी भएपछि युवराज महेन्द्रलाई राजकीय परिषद्मा नियुक्त गरेका थिए । यसरी राजकीय परिषद्मा दुई भाइहरूका साथ राजकीय अधिकार पाएपछि युवराज महेन्द्र पहिलोपटक बाढीग्रस्त क्षेत्रमा भएको क्षति हेर्नका लागि ५ देखि ७ पुससम्म सिमरासम्म जहाजमा गएर विभिन्न बाढीग्रस्त क्षेत्रहरू अवलोकन गर्दै अमलेखगञ्ज–भीमफेदी सडक तथा धुर्सिङमा रोपवे अवलोकन गरेर काठमाडौं फर्केका थिए ।
युवराज महेन्द्र मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीबाट हटाउन चाहन्थे तर सो अधिकार उनमा थिएन । मातृकाले राजीनामा दिए पनि सो स्वीकृत गर्ने अधिकार राजा त्रिभुवनले आफूसँग राखेका थिए । यसैले गर्दा युवराज महेन्द्र २७ माघमा स्वीट्जरल्यान्डका लागि उडे । ५ फागुनमा स्वदेश फर्केका युवराज महेन्द्र शासनसत्ताको अख्तियार बोकेर फर्केका थिए । ७ फागुनमा राष्ट्रका नाममा दिइएको राजा त्रिभुवनको सन्देशमा सम्पूर्ण अधिकार युवराज महेन्द्रलाई दिइएको घोषणा गरिएको थियो ।
यसरी सम्पूर्ण अधिकार प्राप्त भएपछि १९ फागुनमा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको राजीनामा स्वीकृत गरेर प्रधानमन्त्रीको अधिकार पनि आफैँमा लिए । ३० फागुनमा राजा त्रिभुवनको ज्यूरिचमा निधन भएपछि शासनको पूर्ण अधिकार महेन्द्रमा आयो । तर पनि प्रधानमन्त्रीको नियुक्ति गर्ने खासै हतार गरेनन् । अन्तत: १ वैशाखमा पाँच सदस्यीय शाही परामर्शदातृको गठन गरेर प्रधानमन्त्रीको अधिकार आफैँमा राखे ।

प्रतिक्रिया